म्युजिक भिडियो ‘सर्माइ भागेर’मा ‘दर्पण छाया २’ जोडी



काठमाडौं – नेपाली चलचित्र ‘दर्पण छाया २’ मा देखिएका अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी फेरि एक पटक म्युजिक भिडियोमा देखिएको छ । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को भिडियोमा यो जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले प्रस्तुत गरेका हुन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक तिमिल्सेनाले गीत सुनेपछि यसलाई भिडियोमा उतार्ने विचार आएको बताए । उनले भने, ‘म विदेशमा भए पनि नेपाली गीतसङ्गीतबाट टाढा छैन । साथी भुवनले गीत सुनाएपछि यसलाई नेपाल आएर भिडिओ बनाउने सल्लाह भयो । आज त्यहीअनुसार गीत र भिडियो सार्वजनिक गरेका छौँ ।’

उनले गीत निकै मनमोहक रहेको र भिडियो पनि निकै मिहिनेत गरेर तयार पारेको बताए । कुलेखानी र आसपासका रमणीय स्थानमा छायाङ्कन गरिएको गीतमा पुष्प खड्का, सहारा कार्की, गीता अधिकारीलगायत कलाकारले अभिनय गरेका छन् । अभिनेता पुष्पले गीत नसुन्दै काम गर्ने सहमति दिएको बताए ।

उनले भने, ‘फिरोज र सहारालाई मैले ‘दर्पण छाया २’ मा भेटेको थिएँ । सुरुवाती दिनमा भएको मित्रता अहिले पनि उस्तै छ । अहिले फेरि सँगै काम गर्न पाउँदा मैले पुराना दिन सम्झिएँ । गीत पनि एकदमै राम्रो छ, हामीले अडियोलाई न्याय दिने कोसिस गरेका छौँ जस्तो लाग्छ ।’ आठ वर्षपछि फेरि गीतमा देखिन पाउँदा आफू उत्साहित भएको पुष्पले बताए ।

अभिनेत्री कार्कीले पहिलो फिल्ममा काम गर्दा भेटेको पुष्पमा त्यही सरलता र मिहिनेत देखेको भन्दै प्रशंसा गरिन् । उनले भनिन्, ‘पहिलो फिल्मदेखि अहिलेसम्म पनि पुष्पसँग काम गर्दा सहज महसुस हुन्छ । उ अहिले पनि त्यत्तिकै मिहिनेत छ । उसको मिहिनेतले म जस्तो कलाकारलाई काम गर्ने ऊर्जा मिल्छ । यो गीत मैले भुवनजीमार्फत सुनेकी थिएँ । मलाई मन परेको थियो, अहिले काम गर्न पाउँदा खुसी लागेको छ।’ अभिनेत्री कार्कीले अभिनयलाई म्युजिक भिडियो र चलचित्रमार्फत निरन्तरता दिने बताइन् ।

भिडियोमा अर्जुन तिवारीको छायाङ्कन, विकास दाहालको सम्पादन, राजेन्द्र मोक्तानको रङ संयोजन र ज्योति केसीको शृङ्गार रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu