
काठमाडौं – भारतीय मूलकी चर्चित अमेरिकी र्यापर राजाकुमारी अहिले नेपालमा छिन् । उनी केही भारतीय व्यापारी र कलाकारहरूसँगै गत हप्ता नेपाल आएकी हुन् र अहिले पोखरामा छिन् ।
केही दिनअघि राजाकुमारीले मुस्ताङको मुक्तिनाथ मन्दिरको भ्रमण गरिन् । उनको नेपाल आउनुको मुख्य उद्देश्य नेपाललाई विलासी पर्यटनको गन्तव्यको रूपमा विश्वभर चिनाउनु हो । हालै पोखरामा भएको पर्यटनसम्बन्धी एक कार्यक्रममा पनि उनी सहभागी भएकी थिइन् ।
मुस्ताङको सुन्दर प्रकृतिमा रमाएकी राजाकुमारीले आफ्ना सुन्दर भिडियो र तस्बिरहरू इन्स्टाग्राममा लगातार सार्वजनिक गरिरहेकी छन् । आउँदो मे ७ तारिखमा काठमाडौंमा आयोजना हुने विलासी पर्यटनसम्बन्धी कार्यक्रममा उनी सहभागी हुनेछिन् । सोही दिन काठमाडौंको वसन्तपुरमा उनको साङ्गीतिक कार्यक्रम पनि हुनेछ । यो कार्यक्रम अमया सोजोन्सले आयोजना गरेको हो भने साङ्ग्रिला स्प्रिट्सले सहयोग गरेको छ ।
राजाकुमारीको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि सन् २०१७ मा उनले क्लब फरेनहाइटमा आफ्नो प्रस्तुति दिएकी थिइन् भने त्यही वर्ष पशुपतिनाथको दर्शन गरेकी थिइन् ।
वास्तविक नाम श्वेता यल्लाप्रगदा राव भएकी उनलाई सङ्गीत क्षेत्रमा राजाकुमारीको नामले चिनिन्छ । उनी एक भारतीय-अमेरिकी र्यापर, गीतकार र गायिका हुन् ।