
काठमाडौं – गायक तथा सञ्चारकर्मी कृष्ण समीप सुवेदी पर्वत कलाकार समाजको नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न समाजको तेस्रो साधारण सभा तथा अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो ।
अध्यक्षमा चयन भएपछि सुवेदीले पर्वतका सबै कलाकारलाई समेट्ने गरी संस्थालाई साझा चौतारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “संस्थालाई सबै पर्वते कलाकारको साझा र अपनत्व बोध गर्ने संस्था बनाउने प्रयास रहन्छ । अग्रज र अनुजहरू सबैको साझा चौतारी बनाउने प्रतिबद्धता गरेको छु ।”
साधारण सभाले कुमार केसीलाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ । केसी लामो समयदेखि कला कर्म र निर्देशनमा सक्रिय छन् ।
त्यसै गरी, समाजको उपाध्यक्षमा गीतकार तथा गायक प्रह्लाद सुवेदी, महासचिवमा सुजन बराइली, सचिवमा शुष्मा लोहनी, कोषाध्यक्षमा सुरज श्रेष्ठ र सह कोषाध्यक्षमा कल्पना काफ्ले चयन भएका छन् ।
समितिका सदस्यहरूमा रमेश सेन्चुरी, दीपिका पौडेल, भीम बहादुर पौडेल, अमृत चापागाईँ, दीपक गुरुङ, यमुना रसाल र अशोक पौडेल रहेका छन् ।