
काठमाडौं – सङ्गीतकार सङ्घ नेपालको १३ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । निवर्तमान अध्यक्ष चेतन सापकोटाको नेतृत्वमा रहेको कार्यसमितिलाई बिदाइ गर्दै लामाको नेतृत्वमा नयाँ समिति आएको हो । यस समितिमा बबिना भट्टराई एक मात्र महिला सदस्यका रूपमा निर्वाचित भएकी छिन् ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तेज प्रसाद खरालका अनुसार, लामाको अध्यक्षतामा गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेश थापा रहेका छन् । त्यसै गरी, प्रथम उपाध्यक्षमा शङ्कर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईँ, महासचिवमा दिनेश बान्तवा राई, सचिवमा दीपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय चयन भएका छन् । सदस्यहरूमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे र अर्जुन कौशल रहेका छन् । नयाँ कार्यसमितिमा एक जना सदस्य भने पछि चयन गरिने वरिष्ठ उपाध्यक्ष राजेश थापाले जानकारी दिए ।
अष्ट लामाले अध्यक्षमा चयन भएसँगै आफ्नो कार्यकालका लागि ८ बुँदे कार्य योजना सार्वजनिक गरेका छन् । जसमा मुख्य रूपमा संस्थाको कोष अभिवृद्धि गर्ने, अक्षय कोष निर्माण गर्ने, अग्रज सङ्गीत स्रष्टाहरूलाई सम्मान गर्ने, सङ्गीत कल्याणकारी कोषलाई बढवा दिने, सङ्गीत रोयल्टीबारे जानकारी गराउने, आर्थिक पारदर्शिता कायम गर्ने, स्रष्टा सहयोगका लागि स्पष्ट नियमावली बनाउने र नेपाली गीत-सङ्गीतको श्रीवृद्धिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य गर्ने बुँदाहरू समावेश छन् ।
नयाँ कार्यसमितिलाई जेठ १८ गते एक कार्यक्रम आयोजना गरी पदभार हस्तान्तरण गरिने निवर्तमान अध्यक्ष चेतन सापकोटाले जानकारी दिए । सङ्गीतकार सङ्घका संस्थापक अध्यक्ष शम्भूजित बासकोटा हुन् भने यसअघि लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ र चेतन सापकोटाले अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।