काठमाडौं – नेपाली सङ्गीत र साहित्यका बहु आयामिक व्यक्तित्व गणेश रसिक को ७८ वर्षको उमेरमा निधन भएको छ । विगत ५ वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित रसिकको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा आज बिहान ११ बजे निधन भएको पारिवारिक स्रोत र सङ्गीतकार सङ्घले जनाएका छन् ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं.२ छिनामखुको नौलागाउँमा २००४ साल असोज ४ गते जन्मेका रसिक लगभग पाँच दशकअघि ‘लेकाली’ समूह बाट गायनमा उदाएका थिए । रसिकका गीतहरूमा नेपाली समाजको दुःख, सङ्घर्ष, उन्नति र सपनाहरूको सरल प्रस्तुति र गम्भीर अर्थ पाइन्छ । उनका गीत लेखन र गायनमा जीवनका उच्च मूल्य, प्राकृतिक सौन्दर्य, सामाजिक परिवेशको सुन्दर वर्णन, स्थानीयता, माटोप्रतिको अगाध प्रेम र देशभक्तिको भावना मुख्य विशेषताका रूपमा रहेका छन् ।

सङ्गीतका साथै साहित्यमा पनि उनको सशक्त उपस्थिति थियो । उनले कथा, कविता, उपन्यास, संस्मरण र निबन्ध विधाका दर्जनभन्दा बढी कृतिहरू प्रकाशित गरेका छन् । रसिकले आफ्नो व्यावसायिक जीवनमा विभिन्न सरकारी विभाग र संस्थाहरूमा महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालेका थिए । उनले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८-२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०-२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२-२०५५), र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२-२०७५) जस्ता उच्च प्राज्ञिक पदहरूमा रहेर नेपाली कला र साहित्यको विकासमा अतुलनीय योगदान पुर्याए ।
नेपाली गीत-सङ्गीतको पहिलो पुस्ताका नातिकाजी, अमर गुरुङ, बच्चु कैलाश, नारायण गोपाल, गोपाल योञ्जन, तारादेवी र अरुणा लामापछिको दोस्रो पुस्ताका एक होनहार प्रतिभाका रूपमा रसिकलाई चिनिन्छ ।
पारिवारिक स्रोतका अनुसार, रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि उनको अन्त्येष्टि गरिनेछ । हाल उनको पार्थिव शरीरलाई त्रिभुवन शिक्षण अस्पताल मा राखिएको छ ।
रसिकको निधनले नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।