
काठमाडौं – नेपाली हिप-हपको दृश्यमा परम्परागत धारभन्दा भिन्न, गम्भीर दार्शनिक चेतना बोकेको एक नयाँ प्रस्तुति सार्वजनिक भएको छ। गायक विदुर पाण्डे ‘जनताजीवन’को आवाजमा रहेको र्याप गीत ‘गन्तव्य’ हालै सार्वजनिक भएको हो।
मनोरञ्जनलाई मात्र नभई पूर्वीय सभ्यता, आत्म अनुशासन, र स्वाभिमान जस्ता गहन विषयवस्तुहरूलाई आधुनिक र्याप विधामा सफलतापूर्वक समायोजन गरिएकाले यो गीत विशेष बनेको छ। सार्वजनिक भएसँगै, यस गीतको हुक लाइन – “मैले भनेको है पक्कै, जिन्दगीमा पाउन गन्तव्य” चर्चामा छ। गीतलाई कथा वाचन शैलीमा तीन खण्डमा विभाजन गरी प्रस्तुत गरिएको छ, जसले श्रोतालाई जीवनको सङ्घर्षदेखि आध्यात्मिक उचाइसम्मको यात्रा गराउँछ।
प्रथम खण्डमा गायकले जीवनमा आइपर्ने आलोचना, सङ्घर्ष र कठिनाइहरूको सामना कसरी गर्ने भन्ने कुरालाई दर्साएका छन्। सबै चुनौतीका बिचमा पनि ‘महाकाल’ र ‘पशुपतिनाथ’को आशीर्वादलाई अडान मानेर सत्यको बाटोमा अविचलित हिँड्ने दृढ अठोट व्यक्त गरिएको छ। दोस्रो खण्डमा पूर्व भारतीय राष्ट्रपति डा. एपीजे अब्दुल कलामको जीवनलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै निरन्तर कडा परिश्रम र इमानदारिता बिना सफलताको ‘रकेट’ उड्न नसक्ने सन्देश दिइएको छ। क्षणिक प्रलोभन र झूटो प्रशंसाबाट टाढा रहँदै लक्ष्यमा केन्द्रित हुन यसले प्रोत्साहित गर्छ।
अन्तिम खण्डले काली, दुर्गा, लक्ष्मी र सरस्वती जस्ता दैवी शक्तिहरूको स्मरण गर्दै आध्यात्मिक चेतनाको महत्त्वलाई उजागर गरेको छ। गायक ‘जनताजीवन’ले भौतिक धन (पैसा) र क्षणिक प्रसिद्धिभन्दा माथि ‘स्वाभिमान’ लाई नै मानिसको जीवनको वास्तविक र ठुलो जित भएको निष्कर्ष निकालेका छन्।
गीत सार्वजनिक गर्ने क्रममा गायक विदुर पाण्डेले आफ्नो सनातनी हिन्दु पहिचानमा गर्व व्यक्त गर्दै यो प्रस्तुतिलाई केवल मनोरञ्जनको साधन नभई नयाँ पुस्तालाई आफ्नो मौलिक जरो र सभ्यता चिनाउने प्रयास भनेका छन्।
गीत:






