
काठमाडौं – विवाहित महिलाहरूको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस् नेपाल वर्ल्ड २०२५’ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन्। काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा शनिवार राती आयोजित भव्य तथा आकर्षक फाइनल प्रतिस्पर्धामा रक्षाले २४ प्रतिस्पर्धीलाई पछि पार्दै यो सर्वोच्च ताज पहिरिएकी हुन्।
शीर्ष उपाधि चुम्ने क्रममा निर्णायकहरूले सोधेको ‘समाजमा व्याप्त विकृतिमध्ये तपाईँ के हटाउन चाहनुहुन्छ?’ भन्ने निर्णायक प्रश्नको सटीक र प्रभावशाली जवाफ दिएर रक्षाले निर्णायकहरूको मन जितेकी थिइन्। कार्यक्रमका प्रमुख निर्णायक नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले उनलाई सो प्रश्न गरेका थिए।
रक्षाले मिसेस् नेपाल वर्ल्ड २०२५ को उपाधिसँगै एक थान स्कुटर पुरस्कारका साथै सन् २०२६ मा अमेरिकामा आयोजना हुने ‘मिसेस् वर्ल्ड’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने सुनौलो अवसर पनि प्राप्त गरेकी छन्। उनले ‘केडी फोटोग्राफी मस्ट फोटोजेनिक’ को उपउपाधि पनि जित्न सफल भइन्।
प्रतियोगितामा सञ्जु भट्ट ‘मिसेस् नेपाल इन्टरनेशनल’ घोषित भइन्। उनले ‘सेन्ट्रल फेशन स्कुल फेशन आइकन’ उपउपाधि पनि आफ्नो नाममा दर्ता गराइन्। त्यसै गरी, दीपिका तामाङले ‘एमएस नेपाल इन्टरनेशनल’ को उपाधि जितिन्।
फर्स्ट रनर्सअप: विद्या चौहान (साथमा भ्युवर्स च्वाइस र फेसबुक च्वाइस उपउपाधि)
सेकेन्ड रनर्सअप: एलिना केसी (साथमा क्युट केयर वेष्ट हेयर उपउपाधि)
थर्ड रनर्सअप: निर्मला सुनुवार (साथमा सावित्री कञ्जनजंगा वेष्ट डान्सर उपउपाधि)
मिसेस् नेपाल इन्टरनेशनल विजेता सञ्जु भट्टले सिंगापुरमा हुने ‘मिसेस् इन्टरनेशनल’ र एमएस नेपाल इन्टरनेशनल विजेता दीपिका तामाङले सोही स्थानमा हुने ‘एमएस इन्टरनेशनल’ प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउनेछन्।
पूजा चन्दलाई मानार्थ सम्मान
सोही अवसरमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई झन्डै साढे तीन दशकदेखि नेपाली चलचित्र, कला, संस्कृति र साहित्यको क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै ‘मानार्थ मिसेस् नेपाल वर्ल्ड २०२५’ बाट सम्मान गरियो। सम्मानअघि मोडल द्वय एसराज गराच र ऋचा थापाले कोरस कलाकारका साथमा पूजा चन्दका लोकप्रिय गीतहरूमा आकर्षक नृत्य प्रस्तुत गरी उनलाई समर्पण गरेका थिए।
रिबन इन्टरटेनमेन्टद्वारा आयोजित यो भव्य प्रतियोगितामा अन्य विभिन्न शीर्षकमा पनि उपउपाधिहरू प्रदान गरिएको थियो।
| उपउपाधि (Title) | विजेता (Winner) |
|---|---|
| नेपाल टेलिकम मल्टिमिडिया भ्वाइस | अरुणा लामा |
| मेहता कस्मेटिक्स हेल्दी स्किन | तारा खनाल |
| मिशेलिन बेस्ट र्याम्प वाक | सुम्निमा खापुङ |
| एआरएस डेन्टल बेस्ट स्माइल | विनीता अधिकारी |
| रिलायबल डायग्नोस्टिक ल्याबरोटोरी मस्ट डिसिप्लेन्ड | विष्णु भण्डारी |
| क्याभिन्स मस्ट फ्रेन्डली | कुसुम खड्का |
| भीनी मस्ट ट्यालेन्टेड | कञ्चन झा |
| फ्लाइटेक इन्टरनेशनल मिसेस् इको फ्रेन्डली | कल्पना विष्ट |
| मिलेनिया ग्लोबल ब्युटी विथ कम्प्यासन | शुभाना रोक्का |
| अयुथ वेदा बेस्ट पर्सनालिटी | इमायुं राई |
| स्वास्थ्य श्री बेस्ट फिजिक | सुमिना महर्जन |
| राजधानी राष्ट्रिय दैनिक इन्टलेक्चल व्युटी | गङ्गा लामिछाने |
| रिबन इन्टरटेनमेन्ट मेनेजमेन्ट च्वाइस | सजनी जोशी |
प्रतियोगितामा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित अभिनेता तथा निर्देशक सरोज खनाल, अभिनेत्री सनी रौनियार, मिसेस् नेपाल वर्ल्ड २०२३ पृथिविया थापा, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, कोरियोग्राफर गजित विष्ट र जनरल फिजिसियन डा. दिलजान मन्सूर (कर्ट) निर्णायक मण्डलमा रहेका थिए।
सेसेमी लिम्बुले सञ्चालन गरेको प्रतियोगिताको कोरियोग्राफी अश्विनीकान्त झा र डान्स कोरियोग्राफी सन्दीप भुजेलले गरेका थिए। कार्यक्रमको संयोजन सम्राट शाह, अञ्जन परियार र गङ्गा महर्जनले गरेका थिए।






