पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४: २७ विधामा अवार्ड वितरण, अग्रज स्रष्टाहरू सम्मानित



काठमाडौं – हालै काठमाडौंमा सम्पन्न पाँचौँ ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४’ मा फेशन, मोडलिङ र सङ्गीतका २७ विधामा अवार्ड प्रदान गरियो । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न यस समारोहमा विभिन्न स्रष्टालाई सम्मान गरियो ।

समारोहमा अग्रज गायिका मिरा राणा लाई लाइफ टाइम एचिभमेन्ट अवार्ड बाट सम्मानित गरियो । यस्तै, सङ्गीतकार दीपक शर्मा लाई दशकको सङ्गीत सम्मान प्रदान गरियो । पत्रकार कुबेर डङ्गोल लाई नगदसहित चलचित्र फोटो पत्रकार सम्मान, चलचित्र निर्माता रौनक विक्रम कँडेल लाई चलचित्रकर्मी सम्मान, फोटो पत्रकार बद्री थापा लाई फोटो पत्रकार अफ द इयर सम्मान, गायक डेभिड शङ्कर लाई गायन सम्मान, निर्देशक प्रदीप कुमार रसाइली लाई नृत्य सम्मान, र युवा उद्यमी नवराज पाण्डे तथा कपुर साउद लाई युवा उद्यमी सम्मान प्रदान गरियो । यी सम्मान पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, र अग्रज कलाकार किरण केसीले प्रदान गरेका थिए ।

स्टार वान इन्टरटेन्मेन्ट प्रालिद्वारा आयोजित यस कार्यक्रममा फेशन र मोडलिङतर्फ आठ विधामा अवार्ड प्रदान गरियो । जसमा सञ्जिता बराल (पटुकी फेसन) लाई उत्कृष्ट फेसन डिजाइनर अफ दि इयर, काजल शर्मा (काजल क्रियसन) लाई फेसन डिजाइनको जुरी अवार्ड, दिक्पाल कार्की लाई वर्षको फेसन मोडल अवार्ड, अश्विनी कान्त झा लाई वर्षको फेशन कोरीयोग्राफर अवार्ड, र टेक राज पाण्डे लाई वर्षको फेसन मेकअप आर्टिस्ट अवार्ड प्रदान गरियो । यसैगरी, निशु कान्त झा लाई वर्षको बेस्ट पेजेन्ट डिरेक्टर अवार्ड, सम्राट प्रसाद शाह लाई वर्षको इभेन्ट म्यानेजरको अवार्ड, र सन्दीप भुजेल लाई वर्षको डान्स कोरीयोग्राफर (पेजेन्ट) को अवार्ड प्राप्त भयो ।

सरिता भारतीको संयोजन र बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न यस अवार्ड समारोहमा संगीततर्फ १९ विधामा अवार्ड वितरण गरियो । आधुनिकतर्फ ओम सुनार लाई उत्कृष्ट गायक (‘मायाले सजाउँला’), स्वाती भट्ट लाई उत्कृष्ट गायिका (‘यो दिलको’), र हंस राज जोशी लाई गीतकार (‘मलाई तिमी’) को अवार्ड प्रदान गरियो ।

आधुनिक विधाकै म्युजिक भिडियोतर्फ दिलीप ओखेडा (‘तप तप पानी’) लाई कोरियोग्राफर, मल्लिका राजोपाध्याय (‘हे गोरी’) लाई महिला मोडल, शिला गजुरेल (‘हाँसेर माग’) लाई महिला जुरी अवार्ड, र मनीषा श्रेष्ठ (कमला) (‘नगर दोमन’) लाई म्युजिक भिडियो मेकअप अवार्ड प्राप्त भयो। कोरियोग्राफी (स्टेज प्रस्तुति) को अवार्ड केशव कोइराला (‘माया भन्दा ठुलो’) ले जिते ।

लोक गीततर्फ शान्ति कुमारी शाही (‘हरि भजन लोक गीत’) लाई गायिका र आयुमी तामाङ (‘ओए सोल्टिनी’) लाई गायन जुरी अवार्ड प्रदान गरियो । लोकदोहोरी विधामा डब्बु क्षेत्री (‘छोड सताउन’) लाई गीत रचना, चन्द्र शर्मा (‘बालेनको सहर’) लाई गायक, र नम्रता खरेल (‘माया पिरती’) लाई गायिका को अवार्ड प्राप्त भयो । लोकदोहोरी म्युजिक भिडियोतर्फ पल शाह (‘पानको पात’) लाई पुरुष मोडल, जुना कार्की (‘यो दुनियाँ’) लाई महिला मोडल, र रबिता मगर (‘एक नम्बरी सुन’) लाई कोरियोग्राफर को अवार्ड प्रदान गरियो ।

चलचित्रतर्फ विकास विष्ट (‘न मेटिएको घाउ’ बाट ‘बाहिरी पीडा’) लाई गीतकार र हर्कुलस बस्नेत (‘एक्टर वान टेक’ बाट ‘के भरोसा गरम’) लाई सङ्गीतकार को अवार्ड हासिल भयो । भासाभासी तर्फ नेपाल भाषामा राजकुमार मानन्धर (‘छँगु मतिनाया आशय’) लाई गायन र सुरजबीर बज्राचार्य (‘नक्कलिम्ह मय्जु’) लाई उत्कृष्ट गीत रचना को अवार्ड प्राप्त भयो ।

सञ्चारकर्मी विष्णु प्रसाद सुवेदीले सञ्चालन गरेको यस कार्यक्रमका निर्णायकहरूमा निर्देशक दिवाकर भट्टराई, उमेश गुरुङ, चलचित्र निर्माता ध्रुव प्रसाद न्यौपाने, नृत्याङ्गना एलिजिबा पुन मगर, गायकहरू चेतन राई, रमेश पाठक, हेमन्त शिशिर, महेन्द्र राज बराल र म्युजिक भिडियो निर्देशक केशव राज भट्ट रहेका थिए । समारोहमा गायक डेभिड शङ्कर, ओम सुनार, र रमेश पाठकले आफ्ना प्रस्तुति दिएका थिए ।

तस्बिर: बद्री थापा

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu