
बाल्टिमोर – नेपाली कला, संस्कृति र समाजसेवाको प्रवर्द्धनमा अमेरिकामा रहेर विशिष्ट योगदान पुर्याउने १६ जना व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को अमेरिका च्याप्टरले ‘ईनास राष्ट्रिय सम्मान २०२५’ बाट विभूषित गरेको छ । शनिवार बाल्टिमोरमा आयोजित एक भव्य समारोहका बीच उनीहरूलाई सम्मान प्रदान गरिएको हो ।
ईनास अमेरिकाका अध्यक्ष राहुल केसीको सभापतित्व र ईनास ग्लोबलकी संरक्षक निता श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा मेरिल्यान्ड राज्यका सिनेटर, डेलिगेट्स तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
नेपाली भाषा, संस्कृति, खेलकुद, व्यवसाय र समाजसेवाका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई यस वर्षको सम्मान प्रदान गरिएको हो । सम्मानित हुनेहरूमा चलचित्रमार्फत मानवअधिकार र संस्कृति प्रवर्द्धनमा योगदान पुर्याएका पूर्णसिंह बराइली, ललित कलाकार राजेन्द्र केसी, उदीयमान गायिका आस्रा कुँवर, प्रतिभावान् दृष्टिविहीन सुजन ढकाल र संस्कृति प्रवर्द्धनमा सक्रिय संस्था ‘नेपाल पासा पुचः अमेरिकाय’ रहेका छन् ।
यसै गरी, गीतकार तथा साहित्यकार अम्बिका गुरुङ, स्वयंसेवकका रूपमा सक्रिय रुबी पौडेल र अपेक्षासिंह परियार, समाजसेवी विजया शाह, उद्यमी तथा समाजसेवी अमर छन्त्याल, नृत्य कोरियोग्राफर नवीन केसी, पत्रकार तथा अधिकारवादी सच्ची मैनाली, तेक्वान्दो खेल प्रवर्द्धनमा सक्रिय दम्पती कुमार र कल्पना कार्की, वरिष्ठ गायक प्रकाश श्रेष्ठ, पार्कर खेलाडी दिनेश सुनाम र फिल्म अभिनेत्री दिव्या रायमाझीलाई पनि ‘ईनास अमेरिका राष्ट्रिय सम्मान २०२५’ प्रदान गरियो ।
कार्यक्रममा पाहुनाहरूलाई पञ्चेबाजासहित रेड कार्पेटमा स्वागत गरिएको थियो । गुरुङ र नेवार समुदायका कलाकारहरूले आफ्नो मौलिक झाँकी र बाजासहित साङ्गीतिक प्रस्तुति दिएर माहौललाई जीवन्त बनाएका थिए । अमेरिकामा जन्मिएका पछिल्ला पुस्तादेखि नेपालबाट बसाई सरेका अग्रज पुस्तासम्मको उपस्थिति कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष रह्यो ।
यस अवसरमा फिल्म ‘तेल भिसा’ र वेब-सिरिज ‘घर बट इन अमेरिका’को निर्माण टोलीलाई पनि सम्मान गरिएको थियो । अमेरिका र विभिन्न युरोपेली मुलुकबाट आएका कलाकारहरूलाई प्रमाणपत्रसहित सम्मान प्रदान गरिनुका साथै बाल कलाकारहरूले हिमाल, तराई, पहाड झल्काउने आकर्षक नृत्य प्रस्तुत गरेर दर्शकहरूको मन जितेका थिए । राष्ट्रिय कलाकारहरूको सामूहिक गायन प्रस्तुतिले दर्शक तथा श्रोतालाई भरपुर मनोरञ्जन प्रदान गर्यो । ईनासका विभिन्न कार्यसमिति, राज्य समिति र राष्ट्रिय समितिका अध्यक्षहरूलाई पनि यसै अवसरमा ईनास सम्मान प्रदान गरियो ।
कार्यक्रममा ईनास ग्लोबलका प्रवक्ता प्रकाश तिवारीले संस्था स्थापनाको उद्देश्य र इतिहासबारे प्रकाश पारेका थिए ।