प्रेम बानियाँको अवधारणाको वृत्तचित्र ‘जिरो टु ८८४८’को ट्रेलर सार्वजनिक



काठमाडौं – नेपालको भौगोलिक विविधता र साहसिक यात्रालाई समेट्दै निर्माण गरिएको वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सोमबार सार्वजनिक भएको छ । झापाको कचनकवल, जुन नेपालको सबैभन्दा होचो भू-भाग हो, त्यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्मको रोमाञ्चक र ऐतिहासिक पदयात्रा यस वृत्तचित्रको मुख्य कथावस्तु हो । वान सिनेमाज, नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा भव्यताका साथ ट्रेलर प्रदर्शन गरियो ।

पत्रकार प्रेम बानियाँ को मौलिक अवधारणामा आधारित यस वृत्तचित्रलाई निरञ्जन पाण्डे र बलराम बुढाथोकीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । ‘जिरो टु ८८४८’ ले सगरमाथा आरोहणमा हिँडेका यात्रीहरूको अदम्य साहस, दृढ सङ्कल्प र यात्राका क्रममा उनीहरूले सामना गर्ने चुनौतीहरूलाई नजिकबाट देखाउँछ । यस यात्रामा पहिलो यात्रीका रूपमा स्वयं सञ्चारकर्मी प्रेम बानियाँले पाइला चालेका थिए। उनीसँगै १८ पटक सगरमाथा आरोहण गरिसकेका आरोही टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, प्रसिद्ध आरोही तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पालगायतका अनुभवी र साहसी व्यक्तित्वहरू यस पदयात्रामा सामेल छन् ।

कचनकवलबाट सुरु भएको यो लामो पदयात्रा पूर्वी नेपालका विभिन्न रमणीय तथा दुर्गम क्षेत्रहरू हुँदै अघि बढ्छ । इलामको कन्याम, श्रीअन्तु, धनकुटाको नाम्जे, हिले बजार, भोजपुरको मुन्धुम ट्रेल, खोटाङको हलेसी, ओखलढुङ्गा, सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडा, सुर्के, फाक्दिङ, मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेप, कालापत्थर हुँदै सगरमाथाको बेसक्याम्पसम्म पुग्छ । त्यसपछि क्याम्प १ देखि क्याम्प ४ (साउथकोल), हिलारी स्टेप हुँदै सगरमाथाको चुचुरोमा पुगेर यो अविस्मरणीय यात्रा सम्पन्न हुन्छ । यो झन्डै ५१० किलोमिटरको पदयात्रा पूरा गर्न लगभग ९० दिन लागेको थियो ।

कार्यक्रममा बोल्दै अवधारणाकार प्रेम बानियाँले यो वृत्तचित्र केवल एक फिल्म मात्र नभई नेपाललाई विश्वसामु चिनाउने एक महत्त्वाकाङ्क्षी अठोट भएको बताए । उनले समुद्री सतहबाट ५८ मिटरको उचाइमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाई त्यहाँ एउटा गाउँ बसाल्न सकिने र त्यहाँबाट सगरमाथासम्मको यात्रा गर्न सकिने ‘जिरो टु सगरमाथा’को अवधारणा प्रस्तुत गरे । “यो नेपालका लागि इतिहासको एक गौरवपूर्ण क्षण हो र संसारकै लागि एउटा रोचक नयाँ अध्यायको सुरुवात,” उनले थपे । बानियाँले मानव जीवनको यात्रालाई पनि ‘जिरो’ बाट सुरु भई बाल्यकाल, किशोरावस्था हुँदै वयस्कतासम्म अघि बढ्ने यात्रासँग तुलना गरे, जसले यस वृत्तचित्रको गहिरो अर्थलाई प्रतिबिम्बित गर्छ ।

निर्देशक निरञ्जन पाण्डेले देशका लागि केही गर्ने हुटहुटीले आफूहरूलाई यो वृत्तचित्र निर्माणमा प्रेरित गरेको बताए । अमेरिकामा रहेका नेपाली सृजनशील साथीहरूको समूहले देशलाई विश्वमा चिनाउने उद्देश्यले यो अनौठो अवधारणालाई अगाडि बढाएको उनको भनाइ छ । पाण्डेले यो वृत्तचित्रलाई अमेरिकाका सबै राज्यहरूमा, त्यसपछि युरोप, अस्ट्रेलिया र एसियाका अन्य देशहरूमा प्रदर्शन गरी अन्ततः नेपालका सिनेमा हलहरूमा रिलिज गर्ने योजना सुनाए । उनले ‘जिरो टु ८८४८’ अवधारणा विश्वमा कहीँ पनि सम्भव नभएको र यस पदमार्गलाई विकास गर्न सके नेपालको पर्यटन फस्टाउने र देशलाई विश्वभर चिनाउन सकिने विश्वास व्यक्त गरे ।

निर्देशक द्वय पाण्डे र बुढाथोकीले नै सम्पादन तथा छायाङ्कन गरेको यस वृत्तचित्रले जलवायु परिवर्तनको अध्ययन र भूगर्भ पर्यटनका लागि पनि महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने धारणा राखे । यसले नेपालको अनुपम प्राकृतिक सुन्दरताका साथै वैज्ञानिक अध्ययनका लागि समेत नयाँ सम्भावनाहरू खोल्नेछ ।

श्री वाग्ले कार्यकारी निर्माता रहेको यस वृत्तचित्रमा उमङ्ग शाही सहायक छायाकार छन् । त्यस्तै, प्रोडक्सन टिममा कपिल शरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह संलग्न छन् । सगरमाथा शिखरका रोमाञ्चक दृश्यहरू सुजन गुरुङ र दोजी शेर्पाले खिचेका हुन्, जो दुवै यस कार्यका लागि चुचुरोसम्म पुगेका थिए । ‘जिरो टु ८८४८’ ले नेपालको परिचयलाई विश्वसामु नयाँ आयाममा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu