टोरन्टो – क्यानडामा रहेका नेपाली समुदायको सिर्जनात्मक क्षमतालाई उजागर गर्ने उद्देश्यले मानभी फाउन्डेसनले ‘नेपाली क्रिएटर्स फेस्ट २०२५’ आयोजना गर्ने घोषणा गरेको छ । यो महोत्सव विशेष गरी क्यानडामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थी, नयाँ आप्रवासी र युवाहरूलाई लक्षित गरी उनीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने विशेष अवसर प्रदान गर्नेछ ।
मानभी स्टुडियोको सफल एक वर्ष पूरा भएसँगै स्थापित मानभी फाउन्डेसनले यस कार्यक्रममा सहभागी हुनका लागि निःशुल्क दर्ताको व्यवस्था गरेको छ । क्यानडामा नेपालीहरूको बढ्दो उपस्थिति र विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना भइरहेको सन्दर्भमा, यो महोत्सवले नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा एक नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

यस फेस्टमा नृत्य, गायन, फोटोग्राफी, भिडियो निर्माण, कविता लेखन, चित्रकला र सङ्गीत लगायतका विविध विधामा रुचि राख्ने नेपालीहरूले अनलाइन माध्यमबाट सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको मूल्याङ्कन नेपाल, क्यानडा र अमेरिकाका ख्यातिप्राप्त निर्णायकहरूले भर्चुअल रूपमा गर्नेछन्, जसले यस प्रतिस्पर्धालाई अन्तर्राष्ट्रिय स्तरको पहिचान दिनेछ ।
कार्यक्रमको ग्रान्ड फिनाले टोरन्टोमा प्रत्यक्ष रूपमा आयोजना गरिनेछ, जहाँ उत्कृष्ट प्रतिभाहरूले बृहत् मञ्चमा आफ्नो प्रस्तुति दिने अवसर प्राप्त गर्नेछन् । यो महोत्सव केवल एक प्रतिस्पर्धा मात्र नभई, सांस्कृतिक एकता, प्रतिभाको प्रस्फुटन र नयाँ सम्बन्धहरूको निर्माण गर्ने एक सुनौलो अवसरका रूपमा लिनुपर्ने मानभी फाउन्डेसनका सञ्चालक विधान कार्कीले बताए ।
फाउन्डेसनले क्यानडामा रहेका सम्पूर्ण नेपालीहरूलाई आ-आफ्नो कला प्रस्तुत गर्न र अन्य सिर्जनात्मक व्यक्तिहरूसँग सहकार्य गर्न आह्वान गरेको छ।ष