
काठमाडौं – नेपाली मोडलिङ र अभिनयमा परिचित नाम नीराजन प्रधानले पुनः कला क्षेत्रमा सक्रिय भएका छन्। तर यस पटक उनी अभिनेताका रूपमा नभई निर्देशकका रूपमा दर्शकमाझ फर्किएका छन्। उनले ‘माया बस्यो’ बोलको नयाँ म्युजिक भिडियो निर्देशन गर्दै निर्देशन क्षेत्रमा पाइला टेकेका छन्।
‘फोटो कथा’ को प्रस्तुतिमा निर्माण भएको यस म्युजिक भिडियोमा चर्चित गायक सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको छ। भिडियोमा लोकप्रिय अभिनेत्री केकी अधिकारी र राघव दाहालले अभिनय गरेका छन्।
गीतको भावभूमि प्रेमिल सम्बन्धमा केन्द्रित छ, जहाँ दुई प्रेमील जोडीको गहिरो मायालाई उतारिएको छ। अनुहार देख्ने बित्तिकै प्रेममा परेको प्रसङ्गबाट सुरु भई सागरभन्दा गहिरो र नदीभन्दा लामो मायाको वर्णन गीतमा गरिएको छ। एक अर्काको आनीबानी र विशेषताहरूको खुलेर प्रशंसा गर्दै गीतमा सुख-दुःखमा सँगै रहने र जिन्दगीभर साथ दिने बाचा गरिएको छ। सरगम घतानले लेखेको यस गीतले प्रेमको शाश्वत बन्धनलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।
यस गीतमा योगेश काजी शाहको सङ्गीत र एरेन्ज रहेको छ भने मनोज परियारले मिक्सिङ र मास्टरिङको काम गरेका छन्। अर्जुन तिवारीले भिडियोको छायाङ्कन गरेका छन् भने सुरेश काफ्लेले ड्रोन सटहरू खिचेका छन्। प्रवीन श्रेष्ठले सम्पादन र रङ्ग संयोजनको जिम्मेवारी सम्हालेका छन् भने रोशन विश्वकर्माको कोरियोग्राफीले भिडियोलाई थप आकर्षक बनाएको छ।
एक समय म्युजिक भिडियो क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका नीराजन प्रधानले केही चलचित्रमा पनि अभिनय गरिसकेका छन्।
भिडियो: