
काठमाडौं – एपीवान एचडी टेलिभिजनमा प्रसारण भइरहेको रियालिटी शो ‘एक्टिङ स्टार’ मा हालै प्रस्तुत गरिएको एक मार्मिक प्रदर्शनले दर्शकको मन मात्र जितेन, स्टुडियोमा उपस्थित सबैलाई भावुक बनाउँदै केही समयका लागि छायाङ्कन नै रोक्न बाध्य बनायो। यो प्रस्तुति सृजना सुवेदी र विवेक पङ्गेनीको वास्तविक जीवनमा आधारित थियो, जसमा विवेकको ब्रेन क्यान्सर विरुद्धको सङ्घर्ष र सृजनाको अथाह प्रेम, त्याग र समर्पणलाई जीवन्त रूपमा देखाइएको थियो।
प्रतियोगी नबिना रानाभाटले सृजनाको भूमिकालाई यति सशक्त ढङ्गले प्रस्तुत गरिन् कि स्टुडियोमा सन्नाटा छायो। उनलाई अभिनयमा दीपेश खत्री र अनुप भण्डारीले साथ दिएका थिए। विवेकको उपचारदेखि उनको अन्तिम बिदाइसम्मका पलहरूलाई नबिनाले जसरी जीवन्तता दिइन्, त्यसले हजारौँ दर्शकका आँखा रसाए। विशेष गरी अन्तिम बिदाइको दृश्यमा नबिनाको अभिनयले सेटमा उपस्थित सबैलाई स्तब्ध बनायो र धेरै बेरसम्म रुन बाध्य तुल्यायो। प्राप्त जानकारी अनुसार, सो दृश्यको प्रभाव यति गहिरो थियो कि केही समयका लागि छायाङ्कन नै स्थगित गर्नुपरेको थियो।
यस संवेदनशील प्रस्तुतिअघि नबिनालाई सृजना सुवेदीसँग प्रत्यक्ष भेट गराइएको थियो। सो भेटमा सृजनाले आफ्नो पीडादायी तर प्रेरणादायी अनुभवहरू सुनाउँदै आफ्नो कथालाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने अनुमति दिएकी थिइन्। शोको टिमले सोही मर्मस्पर्शी कथालाई आधार मानेर प्रस्तुति तयार पारेको थियो।
महक मिडिया नेटवर्कले आयोजना गरेको यो शोमा नेपालका हिमाल, पहाड र तराईका साथै भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल र मुम्बईबाट गरी एक हजारभन्दा बढी प्रतियोगीले अडिसन दिएका थिए। शो प्रत्येक हप्ता बुधवार र बिहीबार राति ९ बजे एपीवान एचडी टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रसारण भइरहेको छ।






