
काठमाडौं – नेपालको लोकप्रिय हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन’ र ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का निर्माता तथा निर्देशक विशाल भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत आफू र आफ्नो टिमका लागि न्याय र काम गर्ने वातावरणको माग गर्दै अपिल गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमा पोस्ट गरिएको एक लामो विज्ञप्तिमा भण्डारीले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै आफू र आफ्नो निर्माण कम्पनी थ्री प्रोडक्सन प्रालिलाई एक साझेदारले सम्झौता विपरीत पैसा माग्दै यातना दिएको आरोप लगाएका छन्।
भण्डारीका अनुसार, करिब १९ महिनाअघि गैर आवासीय नेपाली सङ्घका एक पदाधिकारी थ्री प्रोडक्सन प्रालिमा साझेदार बनेका थिए। उनले कम्पनीमा ३.५ करोड रुपैयाँ लगानी र ३० प्रतिशत सेयर किन्ने सर्तमा सहकार्य सुरु गरेका थिए।
भण्डारीले विज्ञप्तिमा उल्लेख गरेअनुसार, ‘कमेडी च्याम्पियन’ सिजन ३ सञ्चालनका लागि १.५ करोड रुपैयाँ तत्काल दिने र मुनाफाको हिसाब आएपछि बाँकी रकम थप गरी ३.५ करोड पुर्याउने भद्र सहमति भएको थियो। त्यस क्रममा उनले आफूसँग २ करोड १५ लाख रुपैयाँको सेक्युरिटी चेक लिएको समेत भण्डारीले जनाएका छन्।
“कमेडी च्याम्पियनको सिजन ३ सकिनासाथ मसँग पैसा कहिले आउँछ, म निस्कन्छु भन्ने बहाना बनाएर सम्झौता विपरीत मलाई पैसाको लागि यातना दिन थालियो,” भण्डारीले आफ्नो पीडा व्यक्त गरेका छन्।
उनले सम्पूर्ण बैङ्किङ कारोबारको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गर्दै अतिरिक्त पैसा फिर्ता नगरेको र आफ्नो सम्बन्ध र शक्तिको दुरुपयोग गरी पैसा असुल्न लागेको आरोप लगाएका छन्। यस सम्बन्धमा कम्पनीका अन्य सेयर धनीले विभिन्न मुद्दा दायर गरी हिसाब मागेको र २.४ करोड रुपैयाँ अपचलनको मुद्दा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनमा विचाराधीन रहेको भण्डारीले स्पष्ट पारेका छन्।
भण्डारीका अनुसार, ती व्यक्तिले चेकबापत दाबी गरेको रकम लिएर पनि मिलापत्रका लागि नआएपछि उनी विरुद्ध आपराधिक लाभको मुद्दा प्रहरी परिसर काठमाडौंमा दायर गरेका छन्। यस्तै, ती व्यक्तिले भण्डारीविरुद्ध दायर गरेको बैङ्किङ कसुरको मुद्दा पनि पैसा लिइसकेर मिलापत्रका लागि नआएपछि जिल्ला अदालत पुगेको छ।
“अझै पनि मिलापत्र गर्न नआउने, हामीलाई अलमलाएर राख्ने, पैसा पनि लग्ने, मिलापत्र पनि नगर्ने, कम्पनी नछोड्ने र कानुनको कमजोरीको फाइदा उठाउँदै मुद्दाको पेसी पटक-पटक सार्न लगाई दुःख दिएर हैरान बनाउने, काम गर्न नदिने, कार्यक्रम रोक्न मुद्दा हाल्ने, कहिले कम्पनीको खाता रोक्न मुद्दा हाल्ने, धम्काउने लगायतको काम गरेर कम्पनीको कार्यसम्पादनमा निरन्तर रोकावट व्यवधान गर्ने, उसको यस निकृष्ट एवं घृणित व्यवहारको विरुद्ध भण्डाफोरको उद्घोष नगरी थप सहेर बस्न नसकेको कारणले यो स्ट्याटसमार्फत न्याय प्रेमी जनतामाझ उसको देखावटी सुकिलो अनुहारभित्र लुकेको सैतानी चेहरा उजागर गर्न बाध्य भएको छु,” भण्डारीले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन्।
भण्डारीले यस विषयमा प्रधानमन्त्री ओली र हेलो सरकारको सचिवालयलाई भेटेर जानकारी गराए पनि कुनै प्रतिक्रिया नआएको गुनासो गरेका छन्। उनले आफ्नो यस मर्मस्पर्शी पोस्टमा १०० भन्दा बढी व्यक्तिको भविष्य, रोजगारी र दैनिकी जोडिएको बताएका छन्।
“के यो देशमा इमानदारी साथ कला सिर्जना, श्रम र पौरख बेचेर गरी खान नपाइने हो? के देश सम्बन्ध बनाएर शक्ति राख्न र दुरुपयोग गर्न जान्ने मात्रको हो?” भण्डारीले प्रश्न गरेका छन्।
अन्तमा, उनले थप लेखेका छन्, “अब अति नै भयो। सरकार र कानुन छ भने म र मेरो टिमलाई न्याय र काम गर्ने वातावरण चाहियो। हामी यही देशमा बसेर दर्शक हँसाइराख्न चाहन्छौँ।”






