अनीश ‘ओकिली’ सापकोटाको नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक



काठमाडौं – नेपाली साङ्गीतिक क्षेत्रमा ९० को दशकमा ‘मेरी ओकिली…’ र ‘झ्यालबाट हेर…’ जस्ता सदाबहार गीतहरूबाट आफूलाई स्थापित गरेका लोकप्रिय गायक अनीश ‘ओकिली’ सापकोटाले आफ्नो पछिल्लो साङ्गीतिक सिर्जना ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन्। नेपाली-अमेरिकी गायक, सङ्गीतकार र सङ्गीत निर्माताका रूपमा दुई दशकभन्दा लामो समयदेखि दक्षिण एसियाली तथा विश्वव्यापी सङ्गीतमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका ओकिली, आफ्नो व्यावसायिक नाम ‘ओकिली’ ले चिनिन्छन्।

‘मेरी ओकिली…’ र ‘झ्यालबाट हेर…’ ले नेपाली श्रोतामाझ र विश्वभर छरिएका नेपाली डायस्पोरामा व्यापक लोकप्रियता हासिल गरेका थिए। अमेरिकामा रहेर पनि नेपाली सङ्गीतप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आएका ओकिलीले ‘स्वर्ग मेरो’ मा शब्द, सङ्गीत र स्वर आफैँले दिएका छन्।

गीत सार्वजनिक गर्दै ओकिलीले भने, “मैले अमेरिकामा बसेर पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीका लागि गीत गाइरहेँ, कहिल्यै छोडिनँ र निरन्तरता दिइरहेको छु। यस पटक गीत तयार गर्नुका साथै भिडियोमा आफैँ प्रस्तुत हुनु मेरो लागि फरक अनुभव रह्यो।”

लगभग तीन महिना लगाएर तयार पारिएको यो पप/सफ्ट रक विधाको गीतले प्रेमको सुन्दर वर्णन गरेको छ। यस पटकको म्युजिक भिडियोमा ओकिली आफैँ मुख्य भूमिकामा देखिएका छन्। भिडियोमा ओकिलीसँगै एरिशा श्रेष्ठले मोडलिङ गरेकी छन्। गीतको भिडियो गायक तथा सङ्गीतकार जेम्स प्रधानले तयार पारेका हुन्, जसमा छायाङ्कन, सम्पादन, रङ्ग संयोजन र निर्देशन सबै उनकै रहेको छ। अमेरिकाका रमणीय दृश्यहरूमा खिचिएको यो गीतले दर्शकको ध्यान खिच्नेमा ओकिली विश्वस्त छन्।

आफ्नो नयाँ अनुभवबारे ओकिलीले थपे, “एउटा प्रेम भावको गीत तयार गर्ने इच्छा यस पटक पूरा भएको छ। यो गीतले प्रेमको काल्पनिक संसारको वर्णन गर्छ। मेरा अघिल्ला गीतहरूमा अन्य मोडलहरू थिए तर यस पटक गीतको भावअनुसार निर्देशक जेम्स दाइले खेल्ने प्रस्ताव राख्नुभएपछि म आफैँ अगाडि आएँ। आफ्नो गीतको भावलाई भिडियोमा राम्ररी उतार्न सकेको छु भन्ने विश्वास छ।”

हालै ‘रिदम काठमाडौं’ नामक गीतिसंग्रह सार्वजनिक गरेका ओकिलीले यस पटक एकल ट्र्याक ल्याएका हुन्। प्रचारप्रसार र निर्माणमा सहज हुने भएकाले यस पटक एउटा मात्र गीत ल्याएको उनले बताए। जेनरिक्सले एरेन्ज गरेको ‘स्वर्ग मेरो’ अनीश ओकिली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

आफ्नै युट्युब च्यानलबाट गीत ल्याउनुको उद्देश्यबारे ओकिलीले भने, “मेरा गीतहरू एकै ठाउँमा भेटियोस् भनेर पनि आफ्नै युट्युब च्यानलमार्फत गीत ल्याएको हुँ। मलाई नयाँ रूपमा चिन्नेले पनि मेरो साङ्गीतिक यात्राको बारेमा उक्त गीतमार्फत केही जानकारी पाउनुहुनेछ।”

१९९० को दशकमा नेपालमा ‘ओकिली’ ब्यान्डको संस्थापक सदस्यका रूपमा आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका अनीश ओकिलीले ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिम्रो बानी ब हो’, ‘तिमी नै राम्री’ र पछिल्लो ‘सिमला भुवा’ जस्ता गीतहरूमार्फत विश्वभरका नेपाली दर्शकमाझ आफ्नो पहिचान बनाएका छन्।

हाल अमेरिकाको क्यालिफोर्नियास्थित स्याक्रामेन्टोमा बस्दै आएका ओकिली आधुनिक नेपाली पप र भावनात्मक कथावस्तुको मिश्रणका लागि परिचित छन्। सङ्गीत र संस्कृतिमा पुर्‍याएको योगदानका लागि उनले नोबेल पुरस्कार विजेता डा. चार्ल्स टाउन्सद्वारा प्रदान गरिएको ‘यूथ अचिभमेन्ट अवार्ड’ समेत प्राप्त गरिसकेका छन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu