
काठमाडौं – नेपाली रङ्गमञ्चका सक्रिय निर्देशक बीरेन्द्र हमालको संयोजनमा काठमाडौंमा १५ दिने थिएटर कार्यशाला (अभिनय तथा निर्देशन) सुरु हुने भएको छ। अभिनय र निर्देशनमा रुचि राख्ने नयाँ पुस्तालाई लक्षित गरी यो कार्यशाला आयोजना गरिएको हो।
कार्यशाला भाद्र ३ गतेदेखि १८ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ। यसमा सहभागीहरूले अभिनयका आधारभूत सिद्धान्तहरू, शरीर र आवाजको प्रयोग, संवाद प्रवाह, चरित्र निर्माण, दृश्य संरचना, रङ्गमञ्चीय निर्देशनको प्रक्रिया जस्ता महत्त्वपूर्ण पक्षहरूमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्राप्त गर्नेछन्। वीरेन्द्र हमालले आफैँ प्रमुख प्रशिक्षकका रूपमा कार्यशालाको नेतृत्व गर्नेछन्।
निर्देशक हमालका अनुसार, “थिएटर जीवन बुझ्ने र बुझाउने माध्यम हो। नयाँ पुस्तालाई अभिनय र निर्देशनको सही अभ्यास दिलाउने उद्देश्यले यो कार्यशाला सुरु गर्न लागिएको हो।” उनले नेपाली रङ्गमञ्चमा थप ऊर्जा र अनुशासन ल्याउने उद्देश्यसहित यस्ता कार्यक्रमहरू आयोजना गर्न लागेको पनि बताएका छन्।
कार्यशालामा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरूका लागि दर्ता फारम नयाँ बानेश्वरस्थित कार्यालयमा उपलब्ध गराइएको छ। आयोजक टोलीले सीमित स्थान भएकाले चाँडो दर्ता गर्न सबैलाई अनुरोध गरेको छ।






