राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा १४ मौलिक तीज गीत एकैसाथ विमोचन, विकृति रोक्न सर्जकलाई आग्रह



काठमाडौं – नेपाली लोक संस्कृति र मौलिकताको जगेर्ना गर्ने उद्देश्यका साथ राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले एकै मञ्चबाट १४ वटा मौलिक तीज गीत सार्वजनिक गरेको छ। राजधानीको राष्ट्रिय नाचघर, जमलमा आयोजित विशेष समारोहमा ती गीतहरूको पोस्टर तथा भिडियो विमोचन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि सांसद सोविता गौतम, गायक राजु परियार, बद्री पङ्गेनी, घमेश दुलाल, प्रकाश कटुवाल, गायिका लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, सीता थापा, टिका पुन र मञ्जु थापाले सामूहिक रूपमा गीत विमोचन गरेका थिए।

गीत विमोचन गर्दै प्रमुख अतिथि गौतमले पछिल्लो समय गीत सङ्गीतमा बढ्दै गएको विकृतिप्रति चिन्ता व्यक्त गरिन्। उनले नेपालको मौलिकता र संस्कृतिलाई जीवन्त राख्ने काम गीत सङ्गीतले नै गर्ने भएकाले सर्जकहरूलाई ‘भ्युज’ को पछि नलागी दीर्घकालीन सोचका साथ मौलिक सिर्जनामा ध्यान दिन आग्रह गरिन्। उनले सेन्सर बोर्डको आवश्यकताभन्दा सर्जक आफैँ संवेदनशील र उत्तरदायी बन्नु राम्रो हुने धारणा राखिन्।

समारोहमा वरिष्ठ लोक गायिका लक्ष्मी न्यौपानेलाई लोक गायनको क्षेत्रमा पुर्‍याएको लामो योगदानको कदर गर्दै ‘मौलिक गायन सम्मान’ प्रदान गरियो। सम्मान ग्रहण गर्दै उनले समयअनुसार परिवर्तन हुनुपर्ने भए पनि लोक र मौलिकपनलाई कहिल्यै बिर्सन नहुने बताइन्।

कार्यक्रममा उपस्थित अन्य कलाकारहरूले पनि मौलिकताको पक्षमा जोड दिएका थिए। गायक राजु परियारले कुनै पनि गीत सिर्जना गर्दा ‘लोकरस’ लाई भुल्न नहुने बताए। ‘लोक छ र त संस्कृति छ, लोकसंस्कृति छ र त लोकगीत छ,’ उनको भनाइ थियो। गायक प्रकाश कटुवालले गीत सङ्गीतकै कारण कलाकारहरू साइबर ब्युरोसम्म पुग्नुपर्ने अवस्था आउन नदिन सबैलाई अश्लीलताभन्दा मौलिकतामा जोड दिन आग्रह गरे। उनले विकृति फैलाउने गीतहरूलाई मिडियाले पनि प्रश्रय नदिएमा त्यस्ता गीत आफैँ हराएर जाने धारणा राखे।

संस्थाका अध्यक्ष चन्द्रमणी गौतमले मौलिक गीत निर्माण गर्ने कलाकारहरूलाई प्रोत्साहन दिन सामूहिक विमोचन गरिएको बताए। उनले समाजमा अपाच्य गीत सार्वजनिक गर्ने कलाकर्मीहरूबारे प्रशासनको ध्यानाकर्षण गराउन आफूहरू गृह मन्त्रालयसम्म पुगेको जानकारी दिए। यसै गरी, संस्थाका संस्थापक अध्यक्ष गोविन्द गिरीले विकृति फैलाउने गीतमा बन्देज लगाउनका साथै सङ्गीत सेन्सर बोर्डको अवधारणाका लागि पनि पहल गर्न गृह मन्त्रालय पुगेको स्पष्ट पारे।

समारोहमा विमोचन गरिएका १४ गीतहरूमा भगवान भण्डारी, विशाल महर, भीमसेन खतिवडा, भिमकुमार ओझा, कस्तुप पन्त, सचिन भट्टराई, खुश्बु सुनार, यामप्रसाद निउरे, गोविन्द पौडेल, मुना सुवेदी तिवारी, माया पार्दे, मदन ढकाल, विजय अनुरागी र सन्जु न्यौपानेका सिर्जनाहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu