अभिनेता आर्यन सिग्देलकी भान्जी आर्हीले ल्याइन् अङ्ग्रेजी गीत ‘टक्सिक ट्रुथ’



काठमाडौं – अभिनेता आर्यन सिग्देलकी भान्जी आर्हीले आफ्नो पहिलो अङ्ग्रेजी गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेर साङ्गीतिक क्षेत्रमा पाइला राखेकी छन्। हाल अस्ट्रेलियामा बसोबास गर्दै आएकी आर्हीले यो गीत मार्फत आफ्नो साङ्गीतिक यात्राको सुरुवात गरेकी हुन्।

गीतको शीर्षक ‘टक्सिक ट्रुथ’ रहेको छ। गीतका शब्दहरू आर्ही र म्यागी एल बान्र्सले लेखेका हुन् भने फोसिल र नेप्सेकले सङ्गीत दिएका छन्। आर्हीका अनुसार यस गीतमा डार्क–पप, हिप–हपका साथै नेपाली र एसियाली सङ्गीतको प्रभाव पनि समेटिएको छ।

आर्हीले गीतको भावबारे भनिन्, “यो गीत विभिन्न भावनाको एक मिश्रण हो। मैले यो गीत त्यति बेला लेखेँ, जब म एकै पटकमा धेरै फरक भावनाहरू महसुस गरिरहेकी थिएँ। यसले एक विषालु सम्बन्धको कथा बताउँछ, जहाँ बाहिर देखिने भावना सधैँ सत्य हुँदैनन् किनभने त्यहाँ गहिरो र विषाक्त सत्य लुकेको हुन सक्छ।”

बाल्यकालदेखि नै सङ्गीतप्रति गहिरो लगाव रहेको बताउँदै आर्हीले सङ्गीतलाई नै आफ्नो पेसा बनाउने प्रेरणाबारे पनि बताइन्। उनले भनिन्, “बाल्यकालमा गुनगुनाउँदा नै मलाई गायनलाई निरन्तरता दिन सुझाव प्राप्त भएको थियो। जीवनको हरेक मोडमा सङ्गीतले मलाई साथ दिएको छ र यही पक्षले मलाई यस पेसामा अगाडि बढ्न प्रेरित गरेको हो।”

उनले अवसर पाएमा नेपाली गीत गाउन र नेपाली परियोजनाहरूमा काम गर्न पनि इच्छुक रहेको बताइन्। “नेपाली सङ्गीतले मेरो जीवनमा महत्त्वपूर्ण भूमिका खेलेको छ। सङ्गीतको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु मेरो सपना हो,” उनले थपिन्।

गीतको भिडियोमा आर्ही स्वयम् फिचर्ड छिन्, जसको निर्देशन दीपेन्द्र केसीले गरेका हुन्। एक दशकअघि म्युजिक भिडियो निर्देशनमा सक्रिय केसी अहिले डकुमेन्ट्री निर्माणमा व्यस्त छन्।

निर्देशक केसीले भिडियोमा थ्री–डी इन्स्टलेसन आर्टको प्रयोग गरिएको बताए। उनले भने, “गीत सुनेपछि यसलाई इन्स्टलेसन आर्टको माध्यमबाट प्रस्तुत गर्न सकिन्छ भन्ने लाग्यो। यो एक यस्तो कला शैली हो जसले दर्शकलाई कलाकृति भित्रको वातावरणमा प्रवेश गराएर एक अनौठो अनुभव प्रदान गर्छ। इन्स्टलेसन आर्टले दर्शकलाई हेर्न मात्र नभई कला भित्र प्रवेश गरेर अनुभव गर्न प्रेरित गर्छ, जसले भावनात्मक, बौद्धिक वा सामाजिक सन्देश प्रवाह गर्छ।”

भिडियोको क्रिएटिभ निर्देशन दिनेशजंग राणाले गरेका हुन् भने छायाङ्कन विनोद श्रेष्ठले गरेका छन्। भिडियोको पोस्ट प्रोडक्सन पोस्ट प्रोमा सम्पन्न भएको छ। यस भिडियोलाई आर्हीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu