काठमाडौं – नेपाली वृत्तचित्र ‘जहाँ फुल्छ गुराँस (A Place Where Rhododendrons Bloom)’ दक्षिण एशियाली निर्माताका फिचर डकुमेन्टरी परियोजना विकासमा केन्द्रित सिर्जनात्मक ल्याब ‘डक प्रोड्युसिङ साउथ’मा छनोट भएको छ। यो पहल दक्षिण एसियाली नन-फिक्सन समुदायलाई सशक्त बनाउन ‘पियर–टु–पियर’ मोडलमा चल्ने गर्दछ, जसलाई फिल्ममेकर अनिर्बान दत्ता र अनुपमा श्रीनिवासनले अनुभवी दक्षिण एसियाली निर्माताहरूको साथमा अगुवाई गरेका छन्।
नेपालबाट छनोट भएको वृत्तचित्र ‘जहाँ फुल्छ गुराँस’का निर्माता केदार भुसाल र निर्देशक रजिला श्रेष्ठ हुन्। यसअघि पनि ‘जहाँ फुल्छ गुराँस’ ग्लोबल मिडिया मेकर्स (लस एन्जल्स), टोक्यो डक्स (जापान), ढाका डक ल्याब (बंगलादेश) र डकएज कोलकाता (भारत) का ल्याब तथा रेसिडेन्सीहरूका लागि छनोट भइसकेको छ।
वृत्तचित्रमा गृहयुद्धको पृष्ठभूमिमा, एउटा ग्रामीण बस्तीका दुई हिन्दु परिवारले आफ्ना छोराहरूलाई राम्रो शिक्षा र जीवनका सम्भावनाका लागि राजधानीस्थित बौद्ध गुम्बामा भिक्षु बनाउन पठाउँछन्। तर कोभिड–१९ ले नेपाल ठप्प पारेसँगै उनीहरू घर फर्कन बाध्य हुन्छन्। अब ढिलै किशोरावस्थामा पुगेका तिनीहरू परिवारको कर्तव्य र संकटबीच च्यापिन्छन्।

व्यावसायिक चलचित्रबाट वृत्तचित्रतर्फ मोडिएको केदार भुसाल नेतृत्वको समूह वित्तपोषण र नेपालको टाढाका भेगमा छायांकन जस्ता चुनौतीहरूको साथमा काम गरिरहेको छ। यहि अवस्थाबीच, डक प्रोड्युसिङ साउथले कोच, स्रोत र समान सोचका पेशेवरहरूको सञ्जालमार्फत परियोजनालाई अर्को चरणमा लैजान रणनीतिक मार्गदर्शन दिनेछ।
“फन्डरेजिङ, वितरण र दर्शकसमूह विस्तारजस्ता पक्षमा थप दक्षता आवश्यक छ। यस ल्याबबाट त्यही उपकरण र रणनीति सिक्ने अपेक्षा छ,” निर्माता भुसालले बताए। भुसालका अनुसार, नेपालका अति दुर्गम क्षेत्रका सशक्त कथाहरू विश्वमञ्चमा पुर्याउनु परियोजनाको केन्द्रीय लक्ष्य हो। “समकक्ष निर्मातासँग अनुभव बाँड्ने र सहकार्य गर्ने वातावरणले सिर्जनात्मक समाधान र नवीन दृष्टिकोणलाई टेवा पुर्याउँछ, जसले हाम्रो फिल्मको गुणस्तर र दायरा दुवै बढ्छ,” उनले जनाए।





