‘मिसेस नेपाल वर्ल्ड २०२५’को अडिसन साउन ३१ गते हुँदै, विजेताले अमेरिकामा नेपालको प्रतिनिधित्व गर्ने



काठमाडौं – विवाहित महिलाहरूका लागि प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को अडिसन आगामी साउन ३१ गते हुने भएको छ। यो अडिसन नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटेलमा आयोजना गरिनेछ।

प्रतियोगितामा सहभागी हुन चाहने इच्छुकले विभिन्न माध्यमबाट आवेदन दिन सक्नेछन्। उनीहरूले खल्ती एप, रिबन इन्टरटेनमेन्टको वेबसाइट, वा आयोजकको शंखमूलस्थित कार्यालयमा गई आवेदन फारम भर्न सक्नेछन्। साथै, अडिसनकै दिन होटेलमा पनि प्रत्यक्ष आवेदन दिने व्यवस्था मिलाइएको छ।

अडिसनबाट छानिएका प्रतिस्पर्धीहरूलाई कोरियोग्राफर अश्विनी झाले विशेष प्रशिक्षण दिनेछन्। यसका अतिरिक्त, विभिन्न विषयका विज्ञहरूले पनि नियमित तालिम प्रदान गर्नेछन्। यस वर्षको प्रशिक्षण सत्रको संयोजन गङ्गा महर्जन र सम्राट शाहले गर्नेछन् र यो सत्र भदौ ४ गतेदेखि सुरु हुनेछ।

‘मिसेस नेपाल वर्ल्ड २०२५’ को ग्रान्ड फिनाले असोज २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्यताका साथ आयोजना गरिनेछ। सोही समारोहमा ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’ उपाधि विजेताहरूको पनि घोषणा गरिनेछ।

आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष निशुकान्त झाका अनुसार, यस वर्षको ‘मिसेस नेपाल वर्ल्ड’ विजेताले अमेरिकाको लस भेगासमा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने सुनौलो अवसर पाउनेछिन्। त्यसै गरी, ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’ उपाधि विजेताले सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ मा सहभागी हुने मौका पाउनेछन्।

विगतमा ‘मिसेस वर्ल्ड २०२२’ मा दिक्षा केसीले र ‘मिसेस वर्ल्ड २०२३’ मा पृथ्वीया थापाले नेपालको प्रतिनिधित्व गरेका थिए। पृथ्वीया थापाले ‘मिसेस वर्ल्ड २०२३’ मा ‘मिसेस ह्युमनिटेरियन’ उपउपाधि जितेर नेपाललाई सम्मान दिलाएकी थिइन्। यस वर्ष भने डेनिला कार्कीले ‘मिसेस वर्ल्ड २०२५’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

आयोजकका अनुसार, नेपाली चलचित्र क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका एक ख्यातिप्राप्त अभिनेत्रीलाई यस वर्ष पनि विगतका वर्षहरूमा जस्तै मानार्थ ‘मिसेस नेपाल’ उपाधिबाट सम्मानित गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu