
टोरन्टो, क्यानडा – क्यानडाको टोरन्टो सहरमा भव्यताका साथ १७औँ हिमालयन मेला सम्पन्न भएको छ। नेपाली समुदायको संस्कृति र पहिचान झल्काउने यो मेला अगस्त ९, शनिवारका दिन उत्साहपूर्ण वातावरणमा आयोजना भएको थियो। यस वर्षको कार्यक्रम नेपालिज क्यानेडियन कम्युनिटी सर्भिसेस (एनसिसिएस) को २५औँ वार्षिकोत्सवसँगै मनाइएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपालका राजदूत भरत राज पौड्याल थिए। यस अवसरमा ओन्टारियोका प्रिमियर डग फोर्ड, टोरन्टोकी मेयर ओलिभिया चाउ, र सांसद सोनिया सिधुले शुभकामना सन्देश पठाएर नेपाली समुदायलाई बधाई दिएका थिए। समारोहमा एनआरएन क्यानडाका अध्यक्ष जगन सापकोटा, ग्लोबल एनआरएनका सह-कोषाध्यक्ष अभिमन्यु बस्नेत, ओन्टारियो प्रान्तीय सांसद डोली बेगम, र टोरन्टो सिटी काउन्सिलर पार्थिव कन्देवललगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

मेलाको औपचारिक उद्घाटन एनसिसिएस की अध्यक्ष बिना बर्माले स्वागत मन्तव्यसहित गरेका थिए भने कार्यक्रमको अध्यक्षता एनसिसिएस का सभापति डा. थम नाथ अधिकारीले गरे। कलाकारहरू हरि कर्माचार्य, अञ्जना गुरुङ, र कनैया सिंह परियारले आफ्ना मनमोहक प्रस्तुतिहरूले कार्यक्रममा थप रौनक भरेका थिए।
कार्यक्रममा १७ वटा सांस्कृतिक प्रस्तुति र तीन वटा ब्यान्डको बेजोड प्रदर्शनले दर्शकलाई मन्त्रमुग्ध बनायो। १५ भन्दा बढी सङ्घ-संस्थाका प्रतिनिधिहरूले आफ्नो जातीय र सांस्कृतिक पोसाकमा सजिएर सामुदायिक परेडमा भाग लिएका थिए, जसले क्यानडाको बहु सांस्कृतिक समाजमा नेपाली पहिचानलाई सशक्त रूपमा प्रस्तुत गर्यो।

यस वर्षको मेलामा विशेष सम्मानको रूपमा एनसिसिएस का महासचिव सुदर्शन सापकोटालाई पहिलो ‘प्रेसिडेन्ट अवार्ड’ प्रदान गरिएको छ। उनलाई समुदायप्रतिको समर्पण, नेतृत्व र प्रेरणादायी योगदानको कदर गर्दै यो प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो।
यो मेला नेपाली कला, संस्कृति र पहिचानलाई क्यानडाको बहु सांस्कृतिक समाजमा स्थापित गर्ने एक महत्त्वपूर्ण मञ्च बनेको छ। यसको सफलतालाई निरन्तरता दिन एनसिसिएस ले आगामी वर्षहरूमा अझ प्रभावकारी योजना र व्यापक सामुदायिक सहभागितामा जोड दिने प्रतिबद्धता जनाएको छ।






