कैलाश पर्वत सम्मुखमा छायाङ्कन भएको ‘जय जय शङ्कर’ गीत लोकार्पण



काठमाडौं – गायक सुगम पोखरेलको स्वरमा भगवान् महादेवप्रति समर्पित भक्ति गीत ‘जय जय शङ्कर’ सार्वजनिक गरिएको छ। यो गीतको लोकार्पण नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा काठमाडौंको नयाँ बानेश्वरस्थित आईएनआई सिनेमाजमा गरिएको थियो। डिजिसेन्स नेपाल प्रा. लि.ले निर्माण गरेको यो गीतमा स्वर्गीय नातिकाजीको सङ्गीत रहेको छ भने मोहित मुनालले पुनः संयोजन तथा नयाँ सङ्गीत संयोजन गरेका छन्। गीतमा थप शब्द विजय अधिकारीले दिएका छन्।

गीतको भिडियो हुम्ला जिल्लाको लिमी उपत्यकाको लाप्चामा ५१०० मिटरको उचाइमा खिचिएको हो। यस स्थानबाट प्रत्यक्ष रूपमा कैलाश पर्वत र मानसरोवर ताल देखिने भएकाले यो धार्मिक, सांस्कृतिक र पर्यटन दृष्टिले प्रचुर सम्भावना बोकेको छ। निर्माण पक्षले संसारमै पहिलो पटक यस दुर्गम क्षेत्रमा म्युजिक भिडियो खिचिएको दाबी गरेको छ। भिडियोमा कलाकार बद्रीप्रसाद तिवारीको एकल अभिनय रहेको छ भने निर्देशन विजय अधिकारीले गरेका छन्। किरण थापाले कोरियोग्राफी गरेका छन्। हरि हुमागाईँको छायाङ्कन निर्देशन तथा भरत रेग्मीको सम्पादन रहेको छ। निर्माण नियन्त्रक दिपेन गौतम ‘माइकल’ हुन्।

पूर्व पर्यटन मन्त्री समेत रहेका जीवनबहादुर शाहीले भिडियोले कर्णालीको पर्यटन प्रवर्द्धनमा ठुलो योगदान गर्ने बताए। उनले भने, “यस भिडियोले हामी सबैलाई झकझक्याउनेछ। हाम्रा स्रोत प्रचुर छन् तर कानुनी संरचना बलियो भए देशलाई पाल्न सक्ने ठाउँ यही हो।”

महामन्त्री थापाले गीतप्रति विशेष प्रशंसा व्यक्त गर्दै भने, “सुगम पोखरेलको शक्तिशाली आवाज र बद्रीको अभिनयले गीतलाई जीवन्त बनाएको छ। कर्णालीमा दुःख मात्रै छ भन्ने होइन, यस्ता अनुपम स्थलहरू पनि छन् भन्ने सन्देश यसले दिएको छ। सरकारले जिम्मेवारी खेल्नुपर्ने ठाउँमा यो टिमले गरेको पहल प्रशंसनीय छ।”

निर्देशक विजय अधिकारीले पुराणमा वर्णित लङ्काका राजा रावणले कैलाश पर्वत पुगेर गरेको साधनाको प्रसङ्ग स्मरण गर्दै भने, “हामीले पनि लाप्चा पुगेर कैलाश र मानसरोवर प्रत्यक्ष देख्यौँ र त्यही स्थानमा यो गीतलाई जीवित तुल्यायौँ।” निर्माण पक्षले यस म्युजिक भिडियोले विश्वभरि नै नेपालबाट कैलाश पर्वत र मानसरोवर देखिन्छ भन्ने सन्देश पुर्‍याउँदै पर्यटन प्रवर्द्धनमा ऐतिहासिक योगदान गर्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रममा म्युजिक भिडियो प्रदर्शन गरिएको थियो र यसलाई डिजिसेन्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। 

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu