
काठमाडौं – यस वर्षको तीजमा बिबिसी मास्टर सेफ विजेता सन्तोष शाहले काठमाडौँको गैह्रिधारास्थित मिथिला थाली तथा जनकपुर फिस हाउसमा एक विशेष कार्यक्रमको नेतृत्व गरे । तीज पर्वको अवसर पारेर आयोजना गरिएको सो ‘तीज विशेष दर कार्यक्रम’मा उनले आफ्नो कला र परम्परागत स्वादलाई एकसाथ प्रस्तुत गरे ।
कार्यक्रमको मुख्य आकर्षण नै शाहले आफ्नो दाजु सेफ दिलीप शाहसँग मिलेर तयार पारेको मिथिला परिकारहरू थिए । उनी भन्छन्, “हामीले परम्परागत माछा, विभिन्न प्रकारका रैथाने मिठाई र अन्य स्थानीय व्यञ्जनहरूलाई आधुनिक शैलीमा पस्केका थियौँ । मेरो लागि यो केवल खाना बनाउने अवसर मात्र नभई, आफ्नो माटो र संस्कृतिलाई काठमाडौँमा चिनाउने एउटा माध्यम पनि थियो ।”
उनले भने, “यो वर्षको तीजमा ‘मिथिला थाली’मा सङ्गीत र स्वादको अद्भुत मिश्रण भयो । गायिका सिर्जना खत्री र रेश्मा पुनको प्रस्तुतिले माहौललाई झनै रमाइलो बनाएको थियो । करिब २०० जना अतिथिहरूले हामीले तयार पारेको खानाको स्वाद लिनुभयो र सबैको प्रतिक्रिया सकारात्मक रह्यो ।”
कार्यक्रममा काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोललगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो । अभिनेता नाजिर हुसेन, अभिनेत्री उषा रजक, पूर्व मिस नेपालहरू सुगारिका केसी, उषा खड्की, र सदिच्छा श्रेष्ठको सहभागिताले कार्यक्रममा थप उत्साह भरेको थियो ।
क्याच मसलासँगको सहकार्यमा टुरिजम पाना, मिथिला थाली र जनकपुर फिस हाउसद्वारा संयुक्त रूपमा आयोजना गरिएको यस कार्यक्रमले तीजलाई सांस्कृतिक पर्वका साथै सामाजिक सद्भाव बढाउने अवसरका रूपमा स्थापित गरेको शेफ शाहको भनाइ छ ।






