
काठमाडौं – डेनमार्कको राजधानी कोपनहेगनमा नेपाली साङ्गीतिक समूह नेपथ्यले एक अविस्मरणीय कन्सर्ट सम्पन्न गरेको छ । ९ वर्षपछि डेनमार्क फर्किएको नेपथ्यको यो प्रस्तुतिले युरोपका विभिन्न देशबाट आएका दर्शकलाई मन्त्रमुग्ध बनायो ।
युरोपको औद्योगिक विरासत झल्काउने प्रसिद्ध पुलेन हलमा आयोजना भएको यो कन्सर्टमा दर्शकहरूको उत्साह र ऊर्जा निकै उच्च थियो । नेपथ्यका मुख्य गायक अमृत गुरुङले “कोसीको पानी” गीतबाट प्रस्तुतिको सुरुवात गर्दा हलमा उपस्थित हजारौँ दर्शकहरूले ताली र हुटिङसहित स्वागत गरे । फिनल्यान्ड, जर्मनी, नर्वे, अस्ट्रिया, पोल्यान्ड, स्विडेन, र बेल्जियम लगायतका देशहरूबाट पनि नेपाली सङ्गीत प्रेमीहरू यो ऐतिहासिक क्षणको साक्षी बन्न आइपुगेका थिए ।
दुई घण्टासम्म चलेको यो कन्सर्टमा अमृत गुरुङले आफ्ना कालजयी गीतहरू प्रस्तुत गर्दै दर्शकहरूसँग संवाद पनि गरे । उनले विदेशमा बस्ने नेपालीहरू एकजुट हुनुपर्ने सन्देश दिए, जसलाई दर्शकहरूले निकै रुचाए । कन्सर्टमा अमृतलाई ध्रुव लामा (ड्रम), सुविन शाक्य (बेस गितार), नीरज गुरुङ (गितार), शान्ति रायमाझी (मादल), र दिनेशराज रेग्मी (किबोर्ड) ले साथ दिएका थिए ।
नेपाली राजदूत सुम्निमा तुलाधरले यस कार्यक्रमलाई केवल एक कन्सर्ट मात्र नभएर नेपालीहरूको एक साझा उत्सव भएको बताइन् । नेको इभेन्ट्सको व्यवस्थापनमा सम्पन्न भएको यो कार्यक्रमको सफलतामा खुसी व्यक्त गर्दै इभेन्ट्सका पवन पाण्डेले यो लामो समयको प्रयासको प्रतिफल भएको बताए । उनले भने, “एकातिर सपना पूरा भएको छ भने अर्कोतिर दर्शकहरू रमाएर फर्किएको देख्दा अझै खुसी लागेको छ।”






