इनास अमेरिकाको अध्यक्षमा श्रीजन ताम्राकार निर्वाचित, कलाकर्मीहरूलाई सम्मान



पेन्सिलभेनिया – अमेरिकामा रहेका नेपाली कलाकारहरूलाई सङ्गठित गर्दै नेपाली कला, संस्कृति र भाषाको प्रवर्धनमा सक्रिय अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको राष्ट्रिय समितिको नयाँ नेतृत्वमा गायक श्रीजन ताम्राकार निर्वाचित भएका छन्। सन् २०२५-२०२७ कार्यकालका लागि अध्यक्षमा चुनिएका ताम्राकार यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए।

शनिवार अमेरिकाको पेन्सिलभेनियामा सम्पन्न राष्ट्रिय अधिवेशनले ताम्राकारको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। ९० को दशकको चर्चित पप ब्यान्ड ‘ओकिली’का संस्थापक गायकका रूपमा चिनिने ताम्राकारको आगमनले इनास अमेरिकाले नयाँ गति लिने अपेक्षा गरिएको छ।

नयाँ कार्यसमितिका पदाधिकारीहरूमा उपाध्यक्ष गोपालचन्द्र लामिछाने, रिता श्रेष्ठ, विकास घले गुरुङ र लक्ष्मण पौडेल चुनिएका छन् भने प्रवक्तामा प्रकाश नेपाल, महासचिवमा दिलीप श्रेष्ठ, सचिवमा चिरञ्जीवी गुरागाईँ, कोषाध्यक्षमा मनिष शर्मा, सह-कोषाध्यक्षमा नारायण खकुरेल रहेका छन्। कार्यसमितिका सदस्यहरूमा अनिल तिमल्सेना, अमिता लामा, राजेश श्रेष्ठ, राजु केसी, विनोद गिरी, र सुशान मानन्धर रहेका छन्।

यस अधिवेशनले विभिन्न राज्य समितिहरूको नेतृत्व पनि चयन गरेको छ। जसमा केन्टकीमा सनातन रेग्मी, मेरिल्यान्डमा शान्ति भण्डारी, पेन्सिलभेनियामा आलोक कार्की र भर्जिनियामा विश्व पौडेल अध्यक्षमा निर्वाचित भएका छन्। यस वर्षदेखि स्थापित नयाँ इनास न्यूजर्सीको अध्यक्षको जिम्मेवारी नृत्य निर्देशक कबिना सिंहले पाएकी छन्।

अधिवेशनको उद्घाटन इनास ग्लोबलका वरिष्ठ उपाध्यक्ष सबु गदाल कार्कीले गरेका थिए भने इनास ग्लोबलका सह-कोषाध्यक्ष कृश श्रेष्ठ, अमेरिका क्षेत्रीय संयोजक कन्हैयासिंह परियार र पूर्व अध्यक्ष राहुल केसीलगायतले शुभकामना मन्तव्य दिएका थिए।

सोही अवसरमा अमेरिकामा रहेका नेपाली समुदाय र कलाकारिताको क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा समूहलाई सम्मान गरिएको थियो। जसमा चलचित्र निर्देशकहरू सुमन दाहाल, सुदर्शन थापा, ‘द भ्वाइस किड्स’का विजेता अनुया तामाङ र अग्रज रचनाकार अगोम गुरुङ लगायत सम्मानित भएका थिए। साथै, अमेरिकामा निर्माण गरिएको वेब-सिरिज ‘घर बट् इन अमेरिका’को टोलीलाई विशेष सम्मान प्रदान गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष श्रीजन ताम्राकारले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा सबैलाई एकताबद्ध गर्दै अग्रजको सम्मान र नवप्रतिभाको प्रोत्साहनमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गरे।

यस बृहत् कार्यक्रममा अमेरिकाका विभिन्न राज्यका सङ्घसंस्था र समुदायका साथै राष्ट्रिय स्तरका कलाकारहरूको उल्लेख्य सहभागिता र साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए। अधिवेशनको पहिलो चरणको संस्थागत कार्यक्रम प्रकाश नेपाल र दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सन्देश कुमार खड्काले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu