
काठमाडौं – नेपाली सङ्गीत क्षेत्रकी एक प्रतिष्ठित र बहु आयामिक व्यक्तित्व, वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको दुई वर्ष लामो क्यान्सर रोगसँगको सङ्घर्षपछि निधन भएको छ। उनी ५८ वर्षकी थिइन्। बुधवार बिहान करिब २ बजे ललितपुरको हात्तीवनस्थित आफ्नै निवासमा उनको देहावसान भएको खबर उनको परिवारले पुष्टि गरेका छन्।
विभिन्न भाषा र शैलीका करिब ५ हजारभन्दा बढी गीतमा स्वर दिएर नेपाली तथा तामाङ सङ्गीतमा विशेष योगदान पुर्याएकी इन्दिरा पछिल्लो दुई हप्तादेखि क्यान्सर अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी थिइन्। उनी आफ्नी कान्छी छोरीका साथ हात्तीवनस्थित अपार्टमेन्टमा बस्दै आएकी थिइन्।
सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भर्देउमा जन्मिएकी इन्दिराले आफ्नो करियर रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरेपछि सुरु गरेकी थिइन्। उनले तामाङ सेलो, नेपाली लोक, आधुनिक तथा लोकदोहोरी गीतहरूमा आफ्नो छुट्टै पहिचान स्थापित गरिन्। विशेष गरी, तामाङ सेलो र अन्य लोकगीतहरूका माध्यमबाट तामाङ संस्कृतिको संरक्षण र प्रवर्धनमा उनको भूमिका अतुलनीय मानिन्छ।
तामाङ कलाकार समाजकी पूर्व अध्यक्ष समेत रहेकी इन्दिरा गोलेको जादुमयी स्वरमा सजिएका ‘चाँगुनारायण थान’, ‘जाई फूलको वासना’, ‘घर त छाउनीमा’, ‘सफा ट्याम्पुरी’, ‘होइ ताङ्बा’ र ‘गाङ ग्याब्सेला’ लगायतका गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्। यी सदाबहार गीतहरूले उनको कलाको गहिराइलाई दर्साउँछन्।
उनका श्रीमानको पहिले नै निधन भइसकेको छ भने उनको दुई छोरी रहेका छन्। उनको पार्थिव शरीरको अन्त्येष्टि बौद्ध संस्कार अनुसार गरिने तयारी भइरहेको छ।






