
काठमाडौं – नेपालका विवाहित महिलाहरूको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधिका लागि ३० जना प्रतिस्पर्धीहरू चयन भएका छन्। शुक्रवार साँझ काठमाडौंमा आयोजित ‘स्यासिङ सेरोमनी’ मा उनीहरूलाई भव्य समारोहका बीच ट्याग नम्बर र स्यास प्रदान गरिएको थियो।
प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा सम्पन्न समारोहमा देशका विभिन्न भागबाट अडिसनमार्फत छानिएका गृहिणी, डाक्टर, इन्जिनियर, पाइलट, व्यवसायी, समाजसेवी लगायत विविध पेसा र क्षेत्रका महिलाहरूले आफ्नो परिचय प्रस्तुत गरे। यो संस्करणमा गृहिणीदेखि पाइलटसम्मका महिलाहरूबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले बताए।
फाइनलको झल्को दिने गरी आयोजित समारोहमा साङ्गीतिक प्रस्तुतिहरू पनि समावेश गरिएको थियो। गायक तथा सङ्गीतकार ओम सुनार र लोकप्रिय गायिका जुनु रिजाल काफ्लेले आफ्ना गीत प्रस्तुत गरी दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए भने विद्यार्थी कलाकारहरूले नृत्य प्रस्तुत गरे।
अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका महिलाहरूमा चितवनबाट सञ्जु भट्ट, खोटाङबाट इमायुङ राई, सुजाता खनाल, रोजी थापा र चन्द्रकला राई, सर्लाहीबाट कञ्चन झा, ललितपुरबाट श्रीनी ढक्वा, रविना महर्जन, कल्पना बिस्ट, रञ्जना बुढाथोकी, कुसुम खड्का र सृजना बिस्ट, विराटनगरबाट पूजन ढकाल, काभ्रेपलान्चोकबाट अरुणा लामा, नेपालगन्जबाट एलीना केसी, सुदूरपश्चिमबाट विद्या चौहान, रामेछापबाट निर्मला सुनुवार, लुम्बिनीबाट तारा खनाल र रक्षा पन्त, इटहरीबाट दीपिका तामाङ, तेह्रथुमबाट सुम्निमा खापुङ, कीर्तिपुरबाट विनीता अधिकारी, नवलपरासीबाट गङ्गा लामिछाने, स्याङ्जाबाट विष्णु भण्डारी, मकवानपुरबाट सरस्वती विश्वकर्मा, काठमाडौंबाट सजनी जोशी, सुमिना महर्जन र विष्णु तिमिल्सिना, भक्तपुरबाट सुभाना रोक्का र झापाबाट करुणा श्रेष्ठ रहेका छन्।
प्रतियोगिताको ग्राण्ड फिनाले आगामी असोज २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिनेछ। प्रतियोगिताको कोरियोग्राफी आश्विनीकान्त झाले गर्नेछन् भने नृत्य कोरियोग्राफी सन्दीप भुजेलले सम्हाल्नेछन्। सहायक कोरियोग्राफरमा आईना गजुरेल रहनेछिन्।
यस प्रतियोगिताको विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड २०२५’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। यसअघि २०२१ मा दीक्षा केसी, २०२३ मा पृथ्वीया थापा र २०२४ मा डेनिला कार्कीले यो उपाधि जितेका थिए।






