गायक दुर्गेश थापा साङ्गीतिक यात्राका लागि अमेरिका प्रस्थान, डेढ महिनामा ११ सहरमा प्रस्तुति दिने



काठमाडौं – लोकप्रिय गायक तथा ‘स्टेज पर्फमर’ दुर्गेश थापा साङ्गीतिक प्रस्तुति दिन अमेरिका प्रस्थान गरेका छन्। मङ्गलवार साँझ करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी अमेरिकाका विभिन्न ११ सहरमा आयोजना हुने कार्यक्रमहरूमा सहभागी हुन उडेका हुन्।

दुर्गेश थापाको यो साङ्गीतिक भ्रमण करिब डेढ महिनासम्म चल्नेछ। उनको पहिलो प्रस्तुति आगामी शुक्रवार (अक्टोबर १७) टेक्ससको अस्टिनबाट सुरु हुनेछ भने नोभेम्बर २२ मा टेक्ससकै डल्लासमा पुगेर समापन हुनेछ। यस अवधिमा उनले न्यूयोर्क, बाल्टिमोर, कोलम्बस, कोलोराडो लगायतका ११ फरक-फरक स्टेजमा आफ्ना प्रस्तुति दिने कार्यक्रम रहेको आयोजक पक्षले जानकारी दिएको छ।

आरएनआर ग्रुप्स एलएलसी (रोशन पुरी), पाण्डे होम्स एलएलसी (गणेश पाण्डे), एकेबी कम्पनी एलएलसी (आशिष भडेल) द्वारा संयुक्त रूपमा यो ‘टुर’ को आयोजना गरिएको हो। गैर-नाफामुखी संस्था ‘पिस एन्ड ब्युटी’ ले यसमा साझेदारी गरेको छ। आयोजकले दर्शकको उल्लेख्य सहभागिता हुने अपेक्षा राख्दै अग्रिम टिकटका लागि समेत अनुरोध गरेको छ। यो दुर्गेश थापाको पहिलो अमेरिका भ्रमण भएकाले पनि दर्शकहरू उत्साहित रहेको आयोजकको भनाइ छ।

आयोजक मध्येका एक रोशन पुरीले दुर्गेश थापालाई पहिलो पटक अमेरिकामा रहेका नेपाली समुदायमाझ ल्याउन पाउँदा खुसी व्यक्त गरे। उनले यस भ्रमणलाई केवल साङ्गीतिक कार्यक्रम मात्र नभई फरक-फरक ठाउँमा रहेका नेपालीहरूलाई जमघट गराउने एउटा विशेष अवसरका रूपमा व्याख्या गरेका छन्।

यता, कलाकार दुर्गेश थापाले पनि पहिलो पटक अमेरिकाका विभिन्न सहरमा प्रस्तुति दिन पाउनुलाई खुसीको विषय बताएका छन्। उनले दर्शकलाई आफूलाई सहज हुने स्थानका कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिनका लागि आग्रह गरेका छन्। थापाले आफ्नो पछिल्लो समयका चर्चित गीतहरू ‘दुस्मन हेरेको हेरेई’, ‘जाने भए जाममाया’ लगायत थुप्रै लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्।

यसै गरी, उक्त साङ्गीतिक भ्रमण अन्तर्गत नोभेम्बर १ मा भर्जिनियामा हुने कार्यक्रममा दुर्गेश थापासँगै अर्की चर्चित गायिका मेलिना राईको पनि विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu