
काठमाडौं – आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत पौडेलको शुक्रवार बिहान करिब ८:३० बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले पुष्टि गरेका छन् ।
गत शनिवार गायिका पौडेलले काठमाडौंको अनामनगरस्थित सङ्गीतकार बाबुल गिरीको स्टुडियोभित्र आत्मदाहको प्रयास गरेकी थिइन् । आत्मदाह प्रयासबाट गम्भीर रूपमा घाइते भएपछि उनलाई तत्काल उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
यस घटनाको सम्बन्धमा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो । अहिले गिरी यस घटनाको अनुसन्धान प्रक्रियामा प्रहरीसामु आत्मसमर्पण गरेको बुझिएको छ ।
उनीहरूबिच प्रेम सम्बन्धको खटपटको यो घटना घटेको चर्चा रहेता पनि घटनाको पृष्ठभूमि, आत्मदाहको कारण र यसमा जोडिएका अन्य पक्षहरूबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।






