तीन महिनामा साङ्गीतिक यात्रा ‘अब सुन्छ अमेरिका’ सम्पन्न



काठमाडौं – फ्लाइ नेपा ट्राभल्सद्वारा आयोजित ‘अब सुन्छ अमेरिका’ साङ्गीतिक कार्यक्रमको बृहत् शृङ्खला सफलतापूर्वक सम्पन्न भएको छ। सन् २०२५ को अगस्ट महिनादेखि सुरु भई सेप्टेम्बर र अक्टोबरसम्म चलेको यो लामो साङ्गीतिक यात्राले अमेरिकाका विभिन्न सहरहरूमा रहेका नेपाली दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्‍यो।

तीन महिनाको यस अवधिमा न्युयोर्क, डालस टेक्सस, अस्टिन, नियाग्राफल्स, बोस्टन, न्यू ह्याम्पशायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, शिकागो, एक्रोन ओहायो, कोलम्बस ओहायो, कोलोराडो, सन फ्रान्सिस्को लगायतका प्रमुख स्थानहरूमा कार्यक्रमहरू सम्पन्न भए।

लोकप्रिय गायक बद्री पङ्गेनी, प्रताप दास र गायिका एलिना चौहानले आफ्नो प्रस्तुतिबाट दर्शकलाई मोहित पारेका थिए। कार्यक्रम भएका हरेक स्थानमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो। विशेष गरी, तीज पर्व सुरु हुनुअघि अमेरिका पुगेका यी कलाकारहरूले तीज हुँदै दसैँ-तिहारसम्मका चाडपर्वहरूमा समेत प्रवासी नेपालीहरूलाई आफ्ना गीत सङ्गीतबाट देशको अनुभूति दिलाए।

कार्यक्रमका संयोजक तथा परिकल्पनाकार विनोद अधिकारीले अमेरिकाको पूर्वदेखि पश्चिमसम्म फैलिएका नेपाली समुदायसम्म पुग्न कार्यक्रम अत्यन्त अनुकूल मौसममा आयोजना गरिएको बताएका छन्। गर्मी सकिएर चिसो मौसम सुरु हुने यो समयमा आयोजित कार्यक्रमको क्रममा आफूहरूले हजारौँ माइलको लामो दूरी पार गरेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu