गायन यात्राको २५ औँ वर्षगाँठमा गायक पौडेलले ल्याउँदै नयाँ गीत



काठमाडौं – कुनै समय ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ बोलको चर्चित गीतले सङ्गीत बजारमा तहल्का मच्चाएका गायक प्रकाश पौडेलले आफ्नो गायन यात्राको २५ औँ वर्षगाँठको अवसरमा दर्शक-श्रोताका लागि नयाँ साङ्गीतिक सौगात तयार पारेका छन्। ‘रुन्चे गायक’ को उपनामले समेत चिनिने पौडेलले यसै साता ‘बुढा बुढी’ बोलको रमाइलो र नयाँ जनराको गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने तयारी गरेका छन्।

गायक पौडेलका अनुसार, विशेष गरी टिकटकलगायत सामाजिक सञ्जालमा रमाउने युवापुस्तालाई लक्षित गरेर यो गीत सिर्जना गरिएको हो। पछिल्लो समय प्रख्यात ज्योतिषका रूपमा समेत स्थापित भएका पौडेलले लामो समयपछि सङ्गीत क्षेत्रमा फर्किएको बताएका छन्।

“वित्तीय क्षेत्रमाको जागिर, त्यसपछिको समयमा ज्योतिष विद्याको गहन अध्ययन र अभ्यासले गर्दा सङ्गीतलाई पर्याप्त समय दिन सकिरहेको थिइनँ,” ज्योतिष-गायक पौडेलले भने, “गत शुक्रवार नेपाली सङ्गीत क्षेत्रमा लागेको २५ वर्ष पुरा भयो, त्यसैले यो गीत एउटा साङ्गीतिक कोसेलीका रूपमा ल्याउने निर्णय गरेँ। यस गीतपछि केही ग्याप लिँदै फेरि सङ्गीत क्षेत्रलाई पनि समय दिने मेरो योजना छ।”

पहिलो एल्बम ‘थ्रि मच’ देखि हालसम्म ६ वटा एल्बम सार्वजनिक गरिसकेका पौडेलले ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ बाहेक ‘कसैलाई नभन्नु ल’, ‘कानेखुसी’, ‘डक्टर साब भिटामिन लेख्दिनु’, ‘घाँस काट्ने खुर्केर’, ‘हाँस्ने गीत हाहाहा’, ‘सलाम वालेकुम’, ‘भुडें भुँडी’, ‘भोली छुट्टी’ लगायत दर्जनौँ लोकप्रिय गीतहरू गाइसकेका छन्।

‘बुढा बुढी’ को म्युजिक भिडियोलाई वरिष्ठ सञ्चारकर्मी तथा निर्देशक सुब्रत आचार्यले निर्देशन गरेका हुन्। भिडियोमा मोडल साक्षी लम्साल र कमल सिंहका साथमा स्वयं गायक प्रकाश पौडेल, सानु सत्याल, कुमार लम्साल र सुधीर सापकोटा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ। यो म्युजिक भिडियो ओएसआर म्युजिकको युट्युब च्यानलबाट आगामी शुक्रवार सार्वजनिक हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu