
काठमाडौं – नेपाली दर्शकहरूका लागि हास्यव्यङ्ग्यको पूर्णतः नयाँ स्वाद पस्कँदै नेपालको पहिलो इम्प्रभ (तत्कालै सिर्जना गरिने) कमेडी शो ‘द फन्टुस शो’ औपचारिक रूपमा प्रसारणमा आएको छ। हालै ओएसआर रियालिटीको प्लेटफर्म मार्फत यो कार्यक्रमको शुभारम्भ गरिएको हो। यो विशेष हास्य प्रस्तुति हरेक शनिवार राति ठिक ९ बजे दर्शकमाझ पुग्नेछ।
हिल्स एन्ड होराइजन फिल्म्स प्रालिको प्रस्तुति रहेको यस शोको निर्देशन स्थापित हास्य कलाकार कैलाश कार्कीले गरेका छन्। अर्का लोकप्रिय हास्य कलाकार सन्तोष थापाले सञ्चालन गरेका छन्।
यस शोमा आशिष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रिया सुवेदी, र आस्था तिमिल्सिना गरी ६ जना प्रतिस्पर्धीहरूले सहभागिता जनाएका छन्। यस कमेडी प्रतिस्पर्धालाई तीन मुख्य चरणहरूमा विभाजन गरिएको छ: सिल्भर, गोल्ड, र डायमन्ड। यी हरेक राउन्डमा ६-६ वटा एपिसोड समावेश गरिएको छ। प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउन शोमा एलिमिनेसन (बाहिरिने) र वाइल्डकार्ड (पुनः प्रवेश) प्रणाली लागू गरिनेछ।
कुल २० एपिसोडको यस लामो यात्रापछि एक जना सर्वोत्कृष्ट विजेताको घोषणा गरिनेछ। नेपालकै पहिलो र बृहत् इम्प्रभ कमेडी शोको विजेताले नगद पुरस्कारसहित विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गर्नेछन्।






