६ कमेडियनको ‘हाँस्छ अमेरिका’ टुर हुने



काठमाडौं – नेपाली हास्य विधाका ६ लोकप्रिय कलाकारहरूले अमेरिकामा हुने एक बृहत् स्ट्यान्ड-अप कमेडी टुरमा आफ्नो प्रस्तुति दिने भएका छन्। ‘हाँस्छ अमेरिका: भोल्युम १’ नाम दिइएको यो स्ट्यान्ड-अप कमेडी टुरको संयुक्त आयोजना फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले गर्न लागेका हुन्।

नेपालमा अहिले चर्चामा रहेका हास्य कलाकारहरू भरतमणि पौड्याल, सुमन कोइराला, कैलाश कार्की, सुमन कार्की, मेक्सम गौडेल र सजन श्रेष्ठले यो टुरमा आफ्नो कला प्रदर्शन गर्नेछन्।

टुरको तयारी पूरा भएको जानकारी दिँदै आयोजक फेम नेपालका प्रमुख विमलकुमार पछाइले कलाकारहरूको भिसासहित सम्पूर्ण प्रक्रिया सकिएर टुर निश्चित भएको बताएका छन्। उनका अनुसार यो टुर डिसेम्बरदेखि जनवरी महिनासम्म अमेरिकाका १५ भन्दा बढी सहरहरूमा आयोजना हुनेछ। यद्यपि, टुर गरिने सहरहरूको नाम र निश्चित मिति भने सार्वजनिक हुन बाँकी छ।

पछाइले भने, “यी सबै प्रतिभाशाली कलाकारले अमेरिकाभर रहेका नेपाली दर्शकहरूलाई हाँसो, रमाइलो र सन्देशमूलक मनोरञ्जन प्रदान गर्नेछन्। अहिले टुरका लागि सहर बुकिङ खुला गरिएको छ।” उनले आफ्नो सहरमा यो कार्यक्रम आयोजना गर्न इच्छुक स्थानीय आयोजकहरू, सामुदायिक प्रतिनिधिहरू र इभेन्ट प्रमोटरहरूलाई सम्पर्कका लागि आह्वान पनि गरेका छन्।

कलाकारहरूको टोली नोभेम्बरको अन्त्यतिर अमेरिका उड्ने जानकारी कमेडियन भरतमणि पौड्यालले दिएका छन्। टुरमा कलाकारहरूले अहिले प्रसारण भइरहेको लोकप्रिय कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा आफूहरूले निर्वाह गरेका केही चर्चित चरित्रहरूलाई पनि प्रस्तुत गर्नेछन्।

टुरमा भरतमणि पौड्यालले ‘घरबेटी’ र सुमन कोइरालाले ‘माइकल’ को भूमिका प्रस्तुत गर्ने तय भएको छ। त्यस्तै, कैलाश कार्कीले ‘भिकारी’ र सजन श्रेष्ठले स्ट्यान्ड-अप प्रस्तुति दिनेछन्। मेक्सम गौडेल र सुमन कार्कीले भने कुन चरित्र निर्वाह गर्ने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu