
काठमाडौं – विवाहित सुन्दरीहरूको प्रतिष्ठित प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को फाइनल यही शनिवार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुने भएको छ। फाइनलबाट मिसेस नेपाल वर्ल्ड, मिसेस नेपाल इन्टरनेसनल (८औँ संस्करण) र एमएस इन्टरनेसनलका विजेता घोषणा गरिनेछन्। मिसेस नेपाल वर्ल्डले आगामी वर्ष अमेरिकामा हुने मिसेस वर्ल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।
यसअघि राष्ट्रिय नाचघरमा सम्पन्न ट्यालेन्ट शोमा प्रतिस्पर्धीहरूले गीत, नृत्य, कविता, अभिनय, स्ट्यान्ड अप कमेडी लगायत विभिन्न विधामा प्रभावशाली प्रस्तुति दिएका थिए। निर्णायक मण्डलमा रामचन्द्र कोइराला, दयाराम पाण्डे, पल्पसा डङ्गोल, सरिता गिरी लगायतका व्यक्तित्वहरू थिए। यस्तै, सबै प्रतियोगीले सोमबार काठमाडौंको बुद्ध नगरमा रहेको ‘रूप रङ्ग ब्युटी स्टुडियो’ भ्रमण गरी ‘सेल्फ केयर’बारे जानकारी लिएका थिए।

आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यो प्रतियोगिता महिला सशक्तीकरण, आत्मविश्वास र सामाजिक उत्तरदायित्व उजागर गर्ने ‘गहिरो अभियान’ हो। यसले नेपाली महिलाको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने लक्ष्य राखेको छ।

यसअघि दीक्षा केसी (२०२१), पृथ्वीया थापा (२०२३, ह्युम्यानिटेरियन अवार्ड विजेता) र डेनिला कार्की (२०२४) ले यसअघि यो उपाधि जितेका थिए।






