
काठमाडौं – नेपालबाट हिँडेरै अमेरिका पुग्नेहरूले भोगेको कठोर यात्रा र त्यहाँको जीवन सङ्घर्षलाई मुख्य विषयवस्तु बनाइएको लघु चलचित्र ‘वन इन अ मिलियन’ युट्युबमा रिलिज भएको छ। चलचित्रको लेखन तथा निर्देशन विशाल सापकोटाले गरेका हुन्।
सुनिता भण्डारीको लगानीमा निर्मित यस लघु चलचित्रले जोखिमपूर्ण यात्रा तय गर्दै अमेरिका पुग्ने नेपालीहरूको यथार्थपरक कथालाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ।
पर्दामा कलाकार हसन राजा खानलाई केन्द्रित गरिएको छ। उनको साथमा अमेरिकामा बसोबास गर्दै आएका कलाकार सुभाष थापाको पनि यसमा अभिनय रहेको छ। यस्तै, नरेन्द्र साउद, सुरज खत्री, प्रिन्स नेगी, हेमन्त न्यौपाने, मुरताजा अजिज र रेसाद खलिलले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
रामेश्वर कार्कीले छायाङ्कन गरेको यो मौन (संवादरहित) चलचित्र हो। यद्यपि, चलचित्रमा संवादको अभाव भए तापनि यसले बोकेको कथावस्तु दृश्यहरूको शक्ति र कलाकारहरूको सशक्त अभिनयमार्फत सहजै बुझ्न सकिने निर्माण पक्षले जनाएको छ।
गुणस्तरीय प्रस्तुतिको कारणले गर्दा ‘वन इन अ मिलियन’ अन्तर्राष्ट्रिय महोत्सवहरूमा समेत छनोट भइसकेको छ। यो सर्ट फिल्म ‘इजिप्टियन अमेरिकन फिल्म फेस्टिभल–२०२५’ र ‘फिल्ममेकर सिजन भोल्यूम ११–२०२५’ मा प्रदर्शनका लागि छानिएको हो।
यो चलचित्रले लाखौँ सपना बोकेर हिँडेरै अमेरिका पुग्नेहरूको कठिन यात्रा र त्यसपछिको परिवर्तित जीवनशैलीलाई नजिकबाट नियाल्ने प्रयास गरेको छ।






