
काठमाडौं – नेपाली चलचित्र र डिजिटल कन्टेन्टको खरो समीक्षा गरेर चर्चामा आएका विश्वास तिम्सिना (बिटी कान्छा) अहिले निर्देशक र लेखकको भूमिकामा देखिएका छन्। उनको निर्देशनमा तयार भएको वेब सिरिज‘हरामी’ले नेपाली युट्युब क्षेत्रमा व्याप्त ‘टिपिकल’ कथाभन्दा फरक स्वाद पस्किएको छ।
पाँच भागको यो सिरिज हरेक शुक्रवार युट्युब च्यानलमार्फत सार्वजनिक भइरहेको छ। करिब २५ मिनेट लामो प्रत्येक भागले काठमाडौँको एउटा फ्ल्याटमा बस्ने तीन युवाको जीवन, उनीहरूको सपना, प्रेम र सङ्घर्षलाई रमाइलो शैलीमा प्रस्तुत गरेको छ।
सिरिज निर्माणको कथा रोचक छ। बिटी कान्छाका अनुसार यो सिरिजको मुख्य प्रेरणा पात्र निकुन श्रेष्ठको वास्तविक जीवन नै हो। कालिम्पोङबाट नेपाल आउँदा निकुनको घरमा बस्ने क्रममा बिटीले त्यहाँको स्वतन्त्र र निस्फिक्री वातावरणलाई नजिकबाट नियालेका थिए। निकुनका अभिभावक अमेरिकामा रहेको र उनी एक्लै साथीहरूसँग बस्ने गरेको दृश्यले नै बिटीलाई ‘फ्ल्याट कल्चर’ मा आधारित सिरिज बनाउने सोच पलाएको हो।
बिटी भन्छन्, “निकुनकै घरमा बस्दा फ्ल्याटको कन्सेप्ट आयो। अन्य दुई पात्र हरि र मिलनमा भने मैले मेरा भारतीय साथीहरूको स्वभाव उतार्ने प्रयास गरेको छु।”
नेपालमा धेरैजसो वेब सिरिजहरू पारिवारिक दुःख र गाउँले कथामा आधारित भइरहँदा बिटी कान्छाले भने भारतीय डिजिटल प्लेटफर्महरू टीभीएफ र डाइस मिडिया जस्ता युवा लक्षित कन्टेन्टबाट प्रभावित भएर यो काम सुरु गरेका हुन्। उनले नेपालमा पनि यस्ता आधुनिक र सहरी युवाका कथा समेटिएका सिरिजको आवश्यकता देखेरै ‘हरामी’ जन्माएका हुन्।
यो सिरिजको योजना सन् २०२० मै बुनिएको थियो। तर, कोभिड महामारीका कारण काम अघि बढ्न सकेन। अन्ततः सन् २०२५ मा आएर यो योजनाले मूर्त रूप पाएको छ। सिरिजका कार्यकारी निर्माता समेत रहेका निकुन श्रेष्ठले ‘मन प्रडक्सन’ फिल्म निर्माणमा व्यस्त हुँदा केही ढिलाइ भए पनि बिटीसँगको सहकार्यपछि कामले गति लिएको बताए।
यस प्रोजेक्टमा फिल्म ‘हरि’ का चर्चित लेखक तथा निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङ पनि सुरुदेखि नै जोडिएका छन्।
सिरिजमा निकुन श्रेष्ठका साथै ऋषिकेश बस्याल, शशाङ्क बोहरा, रक्षा थापा र गौमाया गुरुङको मुख्य भूमिका रहेको छ। सिरिजलाई अझ आकर्षक बनाउन हरेक भागमा चिनिएका अनुहारहरूलाई अतिथि कलाकारका रूपमा प्रस्तुत गरिएको छ। हालसम्म आना शर्मा र आयुष्मान् देशराज जोशी सिरिजमा देखिइसकेका छन् भने चौथो र पाँचौँ भागमा पनि अन्य चर्चित कलाकारहरूको ‘सरप्राइज’ उपस्थिति रहने निर्माण पक्षले जनाएको छ।





