आइतबार बानेश्वरमा सयौँ कलाकारको सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ हुने



काठमाडौं – यही आइतबार नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पर्खालसँगैको सडक पेटीमा सयौँ कलाकारहरूले ‘नदबिने आवाज’ नामक सामूहिक कला प्रदर्शनी आयोजना गर्ने भएका छन्। गत भदौ २३ गते अर्थात् सेप्टेम्बर ८ मा भएको युवा आन्दोलन र त्यस क्रममा ज्यान गुमाएका युवाहरूको स्मृतिमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो। भ्रष्टाचार, नातावाद, कृपावाद र अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देजका विरुद्ध उत्रिएका युवाहरूमाथि भएको दमनको विरोध र उनीहरूको बलिदानलाई सम्मान गर्न कलाकारहरूले सडकलाई नै प्रदर्शनी स्थलका रूपमा रोजेका हुन्।

यस प्रदर्शनीमा चित्रकला, मूर्तिकला, प्रदर्शन कला, नाटक, कविता र गीत-सङ्गीतका माध्यमबाट सामाजिक तथा राजनीतिक सुधारको माग गरिनेछ। आयोजकका अनुसार यो कार्यक्रम कलाकारहरूको सिर्जनामार्फत जनताको आवाज बुलन्द पार्ने र राजनीतिक सुधारका लागि दबाब दिने एक सशक्त माध्यम बन्नेछ। अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै युवाहरूमा सामाजिक चेतना फैलाउने उद्देश्य राखिएको यस प्रदर्शनीले आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरूको सपनालाई कलामार्फत जीवित राख्ने प्रयास गर्नेछ। कलाकारहरूले आफ्नो सिर्जनामार्फत मुलुकको मुद्दामा बलियो आवाज उठाउँदै एउटै कलाले लाखौँको भावना समेट्न सक्ने विश्वास व्यक्त गरेका छन्।

बानेश्वरको सडक पेटीमा हुने यो प्रदर्शनी पूर्णतः शान्तिपूर्ण र गैर-राजनीतिक हुने आयोजकले स्पष्ट पारेका छन्। प्रदर्शनीमा विद्यार्थीदेखि अग्रज कलाकारहरूले आ-आफ्ना कलाकृतिसहित उपस्थित भएर मौन तर सशक्त उपस्थिति जनाउनेछन्। कार्यक्रम अवधिभर कुनै पनि राजनीतिक दल, समूह वा व्यक्ति विरुद्ध नाराबाजी गरिने छैन। बढीमा तीन घण्टासम्म चल्ने यस प्रदर्शनीमा आम सर्वसाधारण, बुद्धिजीवी र अन्तर्राष्ट्रिय प्रेस प्रतिनिधिहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ। प्राज्ञ जुपिटर प्रधान र स्वतन्त्र फोटो पत्रकार जीवन भट्टराईले नेतृत्व गरेको ‘नदबिने आवाज’ समूहले यो अभियानमार्फत देशको समृद्धि र प्रगतिका लागि कलाकारहरूको भूमिका महत्त्वपूर्ण हुने निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu