विष्णु माझी र राजनराज सिवाकोटीको स्वरमा नयाँ गीत ‘दूधै फाटेसी’ सार्वजनिक



काठमाडौं – लोकप्रिय गायिका विष्णु माझी र चर्चित सङ्गीतकार राजनराज सिवाकोटीको स्वरमा नयाँ गीत ‘दूधै फाटेसी’ सार्वजनिक भएको छ। नेपाली लोक साङ्गीतिक बजारमा लामो समयदेखि एकछत्र राज गर्न सफल माझीको स्वरमा सजिएको यो गीतले बजारमा नयाँ चर्चा सुरु गरेको छ।

विशेष गरी केही वर्षअघि विष्णु माझी र राजु परियारको आवाज तथा बिबी अनुरागीको एरेन्जमा सार्वजनिक भएर अत्यधिक रुचाइएको यस गीतलाई अहिले सङ्गीतकार सिवाकोटीले बिल्कुलै नयाँ स्वरूपमा प्रस्तुत गरेका छन्। पुरानो सिर्जनालाई आधुनिक प्रविधि र नयाँ शैलीमा ढाल्दै सिवाकोटी आफैँले शब्द, सङ्गीत र गायनमा विष्णु माझीलाई साथ दिएका हुन्। गीतको यस नयाँ संस्करणमा श्याम श्वेत रसाइलीको आकर्षक सङ्गीत संयोजन रहेको छ।

श्रव्यसँगै दृश्यलाई पनि उत्तिकै उत्कृष्ट बनाउन निर्माण पक्षले विशेष मिहिनेत गरेको देखिन्छ। मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफीमा तयार पारिएको भिडियोमा स्वयं गायक राजनराज सिवाकोटीका साथै सुनिशा बजगाईँ, प्रभात पल ठकुरी र जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ। पवन सुस्लिङले कलात्मक रूपमा छायाङ्कन र सम्पादन गरेको यो भिडियो ‘गज्जबको टिभी’ युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।

मौलिकता र आधुनिकताको फ्युजन मानिएको यो गीतले पुरानो भर्सनको साख जोगाउँदै नयाँ पुस्तालाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu