
काठमाडौं – नेपाली विवाहित महिलाहरूको सौन्दर्य र क्षमतालाई विश्व स्तरमा प्रदर्शन गर्ने उद्देश्यका साथ ‘मिसेस नेपाल इन्टरनेशनल २०२५’ की विजेता सञ्जु भट्ट अमेरिका प्रस्थान गरेकी छन्। आगामी जनवरी २२ देखि ३० सम्म संयुक्त राज्य अमेरिकाको प्रसिद्ध सहर लस भेगासमा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड २०२६’ मा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्न उनी बिहीबार त्यसतर्फ उडेकी हुन्।
केही समयअघि राजधानीमा सम्पन्न ‘मिसेस नेपाल वर्ल्ड’ प्रतियोगितामा ‘मिसेस नेपाल इन्टरनेशनल’ को उपाधि चुमेसँगै सञ्जुका लागि विश्व मञ्चको ढोका खुलेको हो। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित समारोहका बिच बिदाइ गरियो। आयोजक संस्था रिबन इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको बिदाइ कार्यक्रममा संस्थाका अध्यक्ष निशुकान्त झा र प्रतियोगिताका राष्ट्रिय निर्देशक एवं कोरियोग्राफर अश्विनीकान्त झाले उनलाई सफलताको शुभकामनासहित बिदाइ गरेका थिए।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष झाले सञ्जुको अनुशासन र उच्च आत्मविश्वास नै उनको सबल पक्ष भएको उल्लेख गरे। उनले अन्तर्राष्ट्रिय मञ्चमा सञ्जुले नेपालको गरिमालाई उँचो बनाउनेमा आफू विश्वस्त रहेको बताए। यस्तै, राष्ट्रिय निर्देशक अश्विनीकान्त झाले सञ्जुको लामो समयको तयारी र व्यावसायिक प्रस्तुतिले मिसेस वर्ल्डको प्रतिस्पर्धामा निर्णायक भूमिका खेल्ने र नेपालका लागि सुखद परिणाम ल्याउने अपेक्षा व्यक्त गरे।
आफ्नो वैदेशिक यात्रा र प्रतिस्पर्धाबारे बोल्दै सञ्जुले देशको प्रतिनिधित्व गर्न पाउनुलाई आफ्नो जीवनको महत्त्वपूर्ण उपलब्धि र गौरवको विषय बताएकी छन्। उनले आफूलाई यो स्थानसम्म पुर्याउन सहयोग गर्ने आयोजक संस्था, प्रशिक्षक र सम्पूर्ण शुभचिन्तकहरूप्रति आभार प्रकट गर्दै नेपालको कला र संस्कृतिलाई विश्वसामु उत्कृष्ट ढङ्गले प्रस्तुत गर्ने प्रतिबद्धता जनाइन्।
अन्तर्राष्ट्रिय मञ्चमा सञ्जुको व्यक्तित्वलाई थप निखार्न नेपाली डिजाइनरहरूको विशेष भूमिका रहनेछ। प्रतियोगिताको दौरान उनले पहिरिने ‘नेसनल कस्ट्युम’ र गाउन ‘इन्स्टिच्युट अफ इन्टरनेशनल फेसन टेक्नोलोजी’ का डिजाइनरहरू प्रतीक गुरुङ र दीक्षा ढकालले तयार पारेका हुन्। त्यसै गरी, उनको ककटेल ड्रेसको डिजाइन ‘सेन्ट्रल फेसन स्कुल’ की डिजाइनर सायरा भुजेलले गरेकी छन्। विश्वका विभिन्न राष्ट्रका सुन्दरीहरू सहभागी हुने यस प्रतियोगितामा सञ्जुको सहभागितालाई नेपालको तर्फबाट अर्थपूर्ण रूपमा हेरिएको छ।






