
काठमाडौं – सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मोत्सवलाई सिर्जनात्मक उत्सवको रूपमा मनाउँदै नयाँ गीति एल्बम ‘भावस्पन्दन’ सार्वजनिक गरेकी छन्। मिलापद्वारा बिहीबार राजधानीमा आयोजित एक विशेष समारोहका बिच महाकाव्यकार खेमनाथ दाहालको अध्यक्षता तथा गीतकार अमर वान्तुको प्रमुख आतिथ्यतामा उक्त एल्बमको लोकार्पण गरिएको हो। नेपाली साहित्य र सङ्गीत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा अधिकारीले आफ्नो जन्मदिनको अवसर पारी यो नयाँ कृति श्रोतामाझ ल्याएकी हुन्।
लोकार्पण समारोहमा बोल्दै प्रमुख अतिथि अमर वान्तु तथा अन्य वक्ताहरूले गीता अधिकारीको लेखनशिल्प र शब्द चयनको प्रशंसा गरे। सङ्गीतकार राजु सिंह, दीपक शर्मा, गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी थापा लगायतले अधिकारीको सिर्जनात्मक सक्रियता अनुकरणीय रहेको बताउनुभयो। जन्मदिनमा सिर्जनात्मक कृति सार्वजनिक गर्ने परम्परालाई निरन्तरता दिँदै उहाँले यसअघि पनि आफ्ना दुई पुस्तक पाठकमाझ ल्याइसक्नुभएको छ। कार्यक्रममा उपस्थित स्रष्टाहरूले अधिकारीका गीतमा मनोरञ्जनका साथै गहिरो सामाजिक सन्देश समेत रहने उल्लेख गर्नुभयो।
आफ्नो नयाँ कृतिबारे बोल्दै स्रष्टा अधिकारीले बाल्यकालदेखिको गीतसङ्गीतप्रतिको रुचि र लगावका कारण यस क्षेत्रमा निरन्तर अघि बढ्ने ऊर्जा मिलेको बताउनुभयो। सार्वजनिक एल्बम ‘भावस्पन्दन’ मा सात वटा फरक विधाका गीतहरू समेटिएका छन्, जसमा दीपक शर्मा, योगेशकाजी, राजेन्द्र बजगाईँ र जीवन शर्माको सङ्गीत रहेको छ। एल्बमका गीतहरूमा सारिका घिमिरे, शान्तिश्री परियार, योगेशकाजी, सविन सुवेदी र स्मिता प्रधानको स्वर सुन्न सकिन्छ। सञ्चार र कला क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा एल्बम लोकार्पणसँगै अधिकारीको जन्मोत्सवको केक समेत काटिएको थियो।






