ठुलोपर्दा डटकम, काठमाण्डौ ।
छायांकन सुरु भएको २५ दिनमा चलचित्र हाउ फन्नीको छायांकन सकिएको छ । मङ्सिर २० बाट छायांकन सुरु गरिएको चलचित्रको पुष २१ गते साँझ इन्ड क्ल्याप गरिएको निर्देशक निलु डोल्मा शेर्पाले बताइन् । चलचित्रका तीन गीतको छायंकन गर्न बाँकी राख्दै चलचित्रको अरु सम्पुर्ण छायांकन सकाएको निर्देशक निलु डोल्मा शेर्पाले जानकारी दिएकी छिन् ।
पहिलो पटक चलचित्र निर्देशनमा हात हालेकी निलुले टिमको सहयोग पाएका कारण सोचेभन्दा पनि राम्रो काम भएको बताइन् । पुष २१ गते साँझको छायंकनमा दयाहाङ राई, केकी अधिकारी, प्रियंका कार्कीको अन्तिम सर्ट पश्चात चलचित्रको छायांकन सकिएको थियो । चलचित्रमा प्रियंका र केकिलाई जासुसको भूमिकामा देख्न सकिन्छ । धनाढ्य व्यापारीकी छोरी हराएसंगै सुरु हुने कथामा उपलब्ध सबै खाले श्रोत, साधन र शक्तिको भरपुर उपयोगिता पश्चात पनि हराएकी केटीको कुनै अत्तोपत्तो नलागेपछी परम्परागत सुत्रहरुलाई भुलेर केही फरक बाटो अपनाउँदै जासुसी कथालाई रोमाञ्चक शैलीमा प्रस्तुत गरिएको छ ।
पूर्व मिसनेपाल माल्भिका सुब्बाको लगानीमा निर्माण भएको चलचित्र हाउ फन्नीको छायांकन काठमाण्डौ र थानकोटमा गरिएको हो । चलचित्रमा माल्भिकाका अलावा आङ नुरु शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पा पनि निर्मातका रुपमा देखिएका छन् ।
फिल्ममा अनुप बिक्रम शाही, निशा अधिकारी र शिशिर राणाको पनि अभिनय रहेको छ । फिल्ममा आङ नुरु शेर्पा (फेरिचे), छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको निर्माण रहेको छ भने यसमा कथा र परिकल्पना निर्देशक निलु डोमाकै रहेको छ । हरि हुमागाईँले खिचेको यस फिल्ममा लेखन शान बस्न्यातको रहेको छ ।