
काठमाडौं । निर्देशक नितेश तिवारीको बहुचर्चित फिल्म ‘रामायण’ले बक्स अफिसमा नयाँ कीर्तिमान बनाएको छ। प्रदर्शन भएको आठ दिनमै फिल्मले विश्वभर एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाएको छ। यति छोटो समयमा यो आँकडा पार गर्ने यो तेस्रो भारतीय फिल्म भएको छ।
भारतीय बक्स अफिसको हिसाब राख्ने ट्रेड पोर्टल साक्निल्कका अनुसार बिहीबारसम्म फिल्मको विश्वव्यापी कुल (ग्रस) कमाइ एक हजार ३३ करोड ५५ लाख भारतीय रुपैयाँ पुगेको छ। यसअघि ‘पुष्पा २’ले छ दिनमा र ‘धुरन्धर २’ले सात दिनमा एक हजार करोड पार गरेका थिए।
भारतभित्र मात्रै फिल्मले ५६४ करोड नेट र ६७५ करोड ग्रस कमाइ गरेको छ। नेट कमाइमध्ये सबैभन्दा धेरै ४३७ करोड हिन्दी संस्करणबाट आएको छ। कन्नडबाट करिब ४९ करोड, तेलुगुबाट ३८ करोड, तमिलबाट २२ करोड र मलयालमबाट साढे १८ करोड कमाइ भएको छ।
यो कमाइसँगै ‘रामायण’ यस वर्ष भारतमा सबैभन्दा धेरै कमाउने दोस्रो फिल्म बनेको छ। यसले ‘दृश्यम ३’, ‘जेलर २’ र ‘हनुमान’को जीवनभरको कमाइलाई उछिनिसकेको छ। अहिले यसभन्दा अगाडि ‘धुरन्धर २’ मात्र छ, जसले भारतमा एक हजार १४९ करोड नेट कमाएको छ। ‘रामायण’ले यो आँकडा पनि पार गरे यो वर्षको सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बन्ने अनुमान गरिएको छ।
दुई भागमा बनेको यो फिल्ममा रणबीर कपूर राम, साई पल्लवी सीता र दक्षिण भारतीय स्टार यश रावणको भूमिकामा छन्। रवि दुबे लक्ष्मण, अरुण गोविल दशरथ, लारा दत्ता कैकेयी, रकुल प्रीत सिंह शूर्पणखा, काजल अग्रवाल मन्दोदरी र आदिनाथ कोठारे भरतको भूमिकामा छन्।
फिल्मले दर्शक र समीक्षक दुवैबाट राम्रो प्रतिक्रिया पाइरहेको बताइएको छ।




