‘चिरञ्जीवी भवः’को पहिलो झलक: हरिवंशको आशीर्वाद, आशीर्वाद र प्रशंसाको हाँसो



काठमाडौं । ‘परान’जस्तो सफल चलचित्र दिएका निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’को पहिलो झलक सार्वजनिक भएको छ । निर्माण टोलीले शनिबार चलचित्रका दुईवटा पोस्टर एकैसाथ सार्वजनिक गरेको हो ।

पहिलो पोस्टरमा चलचित्रका तीन मुख्य पात्र हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी छन् । केन्द्रमा गम्भीर मुद्रामा उभिएका हरिवंश सेतै फुलेको कपाल र जुँगा, नयाँ ढाका टोपी र सुकिलो पहिरनमा खानदानी परिवारका घरमुलीजस्ता देखिन्छन् । उनको दायाँबायाँ आशीर्वाद र प्रशंसा भने खुलेर हाँसिरहेका छन् । बुट्टे चोली र सारीमा सजिएकी प्रशंसाको हँसिलो अनुहारले पात्रको चंचल स्वभावको संकेत दिन्छ । पृष्ठभूमिको मन्दिरले कथामा धार्मिक आस्थाको उपस्थिति जनाउँछ ।

दोस्रो पोस्टरमा दौरासुरुवाल र कोट लगाएका हरिवंश आशीर्वादलाई आशीर्वाद दिइरहेका छन् । यो दृश्यले चलचित्रको नामलाई नै बोलेजस्तो लाग्छ, मानौं हरिवंश ‘चिरञ्जीवी भवः’ भनिरहेका छन् । पोस्टर हेर्दा दुवैजना बाबु र छोराको भूमिकामा हुन सक्ने अनुमान गर्न सकिन्छ, तर निर्माण पक्षले यसबारे खुलाएको छैन ।

चलचित्रमा हरिवंश आचार्य ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिँदै छन् । सामाजिक सञ्जालमा चर्चित प्रशंसा रायमाझीको यो पहिलो चलचित्र हो । आशीर्वाद र प्रशंसा जोडीका रूपमा आउँछन् कि आउँदैनन् भन्ने कुरा भने अझै रहस्यमै छ ।

सामाजिक विषयमा आधारित ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको सोचको भिन्नता र उनीहरूबीचको सम्बन्धलाई मुख्य कथावस्तु बनाएको छ । कथा कुमार कट्टेल ‘जिग्री ब्रो’को हो भने पटकथा र संवाद सविन अधिकारी र वसन्त न्यौपानेले लेखेका हुन् ।

चलचित्र अहिले छायांकनपछिको चरणमा छ । गत बिहीबारदेखि स्वरकन सुरु भएको छ, जसको थालनी हरिवंशले आफ्नो भागको संवाद रेकर्ड गरेर गरेका थिए । ‘हामीले कुनै पनि सम्झौता गरेका छैनौँ,’ निर्देशक आचार्य भन्छन्, ‘अबको काम पनि उत्तिकै मेहनतले गर्नेछौँ ।’

गत वर्ष प्रदर्शन भएको आचार्यको पहिलो निर्देशकीय चलचित्र ‘परान’ वर्षकै सबैभन्दा धेरै कुल आम्दानी गर्ने नेपाली चलचित्र बनेको थियो । त्यसैले उनको दोस्रो चलचित्र कस्तो होला भन्ने दर्शकको चासो बढेको छ ।

हरिवंश, आशीर्वाद र प्रशंसासँगै चलचित्रमा करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी, सुस्मिता कुँवर र तुलसी घिमिरेलगायतको अभिनय छ ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता उमेशकुमार बराल र चिरन केसी हुन् । कार्यकारी निर्मातामा गजित विष्ट र शैलेश खत्री छन् । चलचित्रका गीत निर्देशक आचार्य स्वयं, हर्क साउद र रञ्जित गजमेरले लेखेका हुन् भने बाबुल गिरी, सुशान्त गौतम, निरन्जन थापा र समीर खरेलले संगीत दिएका छन् ।

शिवराम श्रेष्ठको छायांकन, मित्र डी. गुरुङको सम्पादन र गम्भीर विष्ट तथा किरण थापाको नृत्य निर्देशन रहेको चलचित्रको छायांकन धनकुटा, सुनसरी र काठमाडौंका विभिन्न स्थानमा गरिएको थियो ।

‘चिरञ्जीवी भवः’ आगामी माघ १ गतेदेखि देशभरका चलचित्र भवनमा प्रदर्शन हुनेछ । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ भने ओएसआर डिजिटल यसको डिजिटल साझेदार हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu