
अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने, नेहा गुप्ता पहिलो रनरअप
काठमाडौं । नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६’ बनेकी छन् । शनिबार राति प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा भएको अन्तिम स्पर्धामा उनले २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै शीर्ष उपाधि जितेकी हुन् ।
खोटाङको दित्तेल घर भएकी गुरुङ अधिवक्ता पनि हुन् । शीर्ष उपाधिसँगै उनले ‘बेस्ट पर्सनालिटी’ उपउपाधि पनि जितिन् । विजेताले पुरस्कारस्वरूप स्कुटर पाएकी छिन् । उनले अमेरिकामा हुने विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
प्रतियोगितामा नेहा गुप्ता पहिलो, ज्योति लामिछाने दोस्रो र सगुन खनाल तेस्रो रनरअप भए । नेहाले ‘म्यानेजमेन्ट च्वाइस’ र सगुनले ‘बेस्ट फिजिक’ उपउपाधि पनि जिते ।
अन्तर्राष्ट्रिय मञ्चका लागि अरू तीन विजेता
सोही मञ्चबाट शिल्पा न्यौपाने महर्जन ‘मिसेस नेपाल इन्टरनेसनल २०२६’, क्रिस्टिना ज्ञवाली ‘मिसेस कोस्मो २०२६’ र ऋचा शर्मा ‘एमएस इन्टरनेसनल २०२६’ चुनिए । उनीहरूले जनही ५० हजार रुपियाँ पाएका छन् । मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेता सिंगापुर र मिसेस कोस्मोकी विजेता म्यानमारमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन् । यो जानकारी आयोजक रिबन इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले दिए ।
निरुता सिंह सम्मानित, मञ्चमा राजेश हमालसँग नृत्य
कार्यक्रममा अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’को उपाधिले सम्मान गरियो । नेपाली चलचित्रमा साढे तीन दशकभन्दा लामो योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको कदरस्वरूप यो सम्मान दिइएको आयोजक शिला बास्तोलाले बताइन् ।
निरुताको सम्मानमा उनका चलचित्रका गीतमा यसराज गराच, शिला गजुरेल र ऋचा थापाले नृत्य प्रस्तुत गरेका थिए । उनीहरूले महानायक राजेश हमाल र निरुता सिंहलाई पनि मञ्चमा ल्याएर नृत्यमा सामेल गराए । सन् १९९३ मा ‘दक्षिणा’बाट अभिनय सुरु गरेकी सिंहले ‘रहर’, ‘मितज्यू’, ‘दर्पणछायाँ’, ‘आफ्नो मान्छे’, ‘को आफ्नो को बिरानो’ र ‘दाल भात तरकारी’लगायत दर्जनौँ चलचित्रमा अभिनय गरेकी छन् ।

उपउपाधिका विजेता
सन्ध्या लामा ‘मोस्ट इनर्जेटिक’, अञ्जु परियार ‘मोस्ट ट्यालेन्टेड’, शिल्पा न्यौपाने महर्जन ‘बेस्ट हेयर’, दीप्ति ढुंगेल ‘हेल्दी स्किन’, क्रिस्टिना ज्ञवाली ‘बेस्ट र्याम्प वाक’ र ऋचा शर्मा ‘मोस्ट पङ्चुअल’ चुनिए । समीक्षा रानाभाट ‘बेस्ट स्माइल’, स्वेच्छा पौड्याल ‘मोस्ट डिसिप्लिन्ड’, कञ्चन महर्जन ‘फेसन आइकन’, सुष्मा थापा ‘फ्याबुलस फेस’ र ‘मोस्ट फोटोजेनिक’, बिन्दु थापा राणा ‘मोस्ट कन्फिडेन्ट’, यास्मिन बेगम सैयद ‘मिसेस कन्जेनियालिटी’ र सुनिता श्रेष्ठ कर्माचार्य ‘मिसेस ह्युम्यानिटेरियन’ बने ।
विजेतालाई ‘मिसेस वर्ल्ड २०२५’ थाइल्याण्डकी चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी), महानायक राजेश हमाल र अभिनेत्री रेखा थापालगायतले पुरस्कृत गरे । निर्णायकमा राजेश हमाल, रेखा थापा, नेपाल प्रहरीकी पूर्व एआइजी मीरा चौधरी, सिप्रदी अटोपार्ट्सका उपाध्यक्ष युवराज बुढाथोकी, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र ‘मिसेस नेपाल वर्ल्ड २०२४’ डा. डेनिला कार्की थिए ।

अश्विनी झाको कोरियोग्राफी र निशा बराइलीको सह-कोरियोग्राफी रहेको कार्यक्रमको संयोजन गङ्गा महर्जन र विन्दिया श्रेष्ठले गरेका थिए भने सेसेमी लिम्बु र सोफिया भुजेलले सञ्चालन गरेका थिए । गृहिणीदेखि चिकित्सक, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स र फेसन डिजाइनरसम्मको सहभागिता रहेको प्रतियोगिता अबेर रातिसम्म चलेको थियो ।
तस्बिर : बद्री थापा / कुबेर डंगोल




