
काठमाडौं – दसैंको अवसर पारेर यही शुक्रबार अर्थात् असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आ बाट आमा २’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। करिब ५ मिनेट लामो यस ट्रेलरले चलचित्रको मूल कथावस्तुलाई प्रस्तुत गर्दै आमा र छोराबीचको भावनात्मक सम्बन्ध, प्रेम र श्रीमान्-श्रीमतीको वियोगलाई मार्मिक ढंगले उजागर गरेको छ।
कुकुरको बच्चामार्फत आमा र सन्तानबीचको सम्बन्धलाई इङ्गित गर्दै सुरु हुने ट्रेलर, मुख्य रूपमा आमाको खोजीमा छोराले गर्ने सङ्घर्षमा केन्द्रित छ। ट्रेलरको अन्त्यमा अभिनेता पल शाहलाई मानसिक सन्तुलन गुमाएको अवस्थामा देखाइएको छ, जसले चलचित्रको कथा निकै संवेदनशील र मर्मस्पर्शी रहेको बलियो सङ्केत दिन्छ।
चन्द्र पन्तको निर्देशनमा निर्माण भएको यस चलचित्रमा विपना थापा, पल शाह, आकाश श्रेष्ठ, मलिका महत, साइग्रेस पोखरेल, निकिता आचार्य, सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का, दीलिप अखेडा, बेगम नेपाली (भटभटे माइला) र दिवंगत भारतीय अभिनेता प्रदीप रावत (गजनी भिलेन) को मुख्य अभिनय रहेको छ। यो चलचित्र अभिनेता रावतको अन्तिम नेपाली चलचित्र समेत हो।
आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस चलचित्रको कथा तथा पटकथा निर्देशक चन्द्र पन्त आफैंले तयार पारेका हुन् भने संवाद सन्तोष भट्टले लेखेका हुन्। प्राविधिक पक्षतर्फ नवराज उप्रेतीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, एलिस कार्कीको पार्श्व सङ्गीत तथा राजेन्द्र मोक्तानको रङ संयोजन रहेको छ। प्रचार सामग्रीप्रति दर्शकले देखाएको चासोका कारण चलचित्रले बक्स अफिसमा आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ।



