
काठमाडौं – रिवन इन्टरटेनमेन्टको आयोजनामा आगामी कात्तिक १४ गते राजधानीमा हुन लागेको ‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६’ अन्तर्गत आइतबार राति ‘द ग्ल्याम नाइट’ सम्पन्न भएको छ। यस फेसन शोमा प्रतियोगिताका अन्तिम २२ जना प्रतियोगीहरूले ब्राइडल, निभिया र गाउन गरी तीन विशेष सिक्वेन्समा र्याम्प वाक गर्दै आफ्नो सौन्दर्य, व्यक्तित्व र आत्मविश्वास प्रस्तुत गरेका छन्।
कार्यक्रममा उपस्थित दिग्गज कलाकारहरू राजेश हमाल, रेखा थापा, पूजा शर्मा र सुपुस्पा भट्टले प्रतियोगिताका विजेताहरूले पहिरिने ताज सार्वजनिक गरेका थिए। सो अवसरमा गायक आनन्द कार्कीले सांगीतिक प्रस्तुति र हास्य कलाकार जितु नेपालले समसामयिक विषयमा प्रहसनमार्फत मनोरञ्जन प्रदान गरेका थिए भने अभिनेता रमेश उप्रेती र प्रमोद अग्रहरी लगायतका सेलिब्रेटीहरूको पनि उपस्थिति रहेको थियो। विवाहित महिलाहरूको व्यक्तित्व विकास र पहिचानलाई प्रोत्साहन गर्ने उद्देश्यले यो शो आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले बताए।
अश्विनी झाको कोरियोग्राफी रहेको यस प्रतियोगिताको ग्रान्ड फिनाले कात्तिक १४ गते प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना हुँदैछ। प्रतियोगिताकी मुख्य विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। त्यस्तै, सोही मञ्चबाट छनोट हुने मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोका विजेताहरूले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछन्।
यस वर्षको अन्तिम स्पर्धामा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन ताजका लागि प्रतिस्पर्धा गर्दैछन्।



