वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न



काठमाडौं – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ। असोज २ गतेबाट काभ्रेको धुलिखेलमा सुरु भएको छायांकनको पहिलो तालिका सकिएको हो। छायांकनका क्रममा मदनकृष्ण श्रेष्ठ स्वयं सेटमा उपस्थित भई दृश्यहरूको अवलोकन गर्नुका साथै आवश्यक सुझाव दिएका थिए। निर्देशक मिलन चाम्सका अनुसार, आफ्नै जीवनीमा बनिरहेको चलचित्रको काम देखेर मदनकृष्ण निकै भावुक र सन्तुष्ट बनेका छन्। चलचित्रको दोस्रो चरणको छायांकन दसैंलगत्तै सुरु हुनेछ।

आगामी चैत ४ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले र उनकी श्रीमती यशोदाको भूमिका केकी अधिकारीले निर्वाह गर्दैछन्। त्यसैगरी, मह जोडीका अर्का हस्ती हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री र उनकी श्रीमतीको भूमिकामा वर्षा राउत देखिनेछन्। यस बायोपिकमा मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, अन्तरजातीय विवाह, हरिवंशसँगको सहकार्य र जीवनका समग्र आरोह-अवरोहलाई समेटिएको छ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहेको यस चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन् भने कथा तथा पटकथा यम थापाले लेखेका हुन्। चलचित्रमा मुख्य कलाकारका साथै राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने लगायतका कलाकारहरूको अभिनय रहनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu