‘पाँच पाण्डव’मा जुझारु ‘सितर्नी’ बनिन् दीपाश्री निरौला



चलचित्र ‘पाँच पाण्डव’को एक दृश्यमा अभिनेत्री दीपाश्री निरौला

काठमाडौं । अभिनेत्री दीपाश्री निरौलाले चलचित्र ‘पाँच पाण्डव’मा आफू जुझारु नारीको रूपमा देखिने बताएकी छन् । यही कात्तिक २० गतेबाट प्रदर्शन हुने चलचित्रमा उनले भीमकी श्रीमती ‘सितर्नी’को भूमिका निर्वाह गरेकी छन् । भीमको भूमिकामा जितु नेपाल छन् ।

“यसपटक मेरो चरित्र अलिक फरक छ । यो अलिकति लडाकु स्वभावको भूमिका हो,” उनी भन्छिन्, “मजदुरमाथि कसैले अन्याय गर्‍यो भने सबैभन्दा पहिले मेरो हातखुट्टा चल्छन् ।”

आफ्नो प्रवेश हुनेबित्तिकै दर्शकबाट सिठी र ताली आउनेमा उनी ढुक्क छिन् । “डबिङ गर्दा नै मलाई यस्तो महसुस भएको थियो । मेरो प्रवेश हुने दृश्यहरू निकै धमाकेदार छन्,” दीपाश्री भन्छिन्, “ती दृश्यमा एकदमै जुझारु नारीको उपस्थिति महसुस हुन्छ । श्रीमानलाई पनि सुरक्षा दिने र उनको पक्षमा उभिने भूमिका छ ।”

अहिलेसम्मका भूमिकाभन्दा फरक भएकाले उनले यसलाई नयाँ अनुभवका रूपमा लिएकी छन् । “मेरो चरित्रको नाम ‘सितर्नी’ हो । फिल्ममा अरूलाई गाली गर्दा पनि म ‘सितर्नी’ भनेर गाली गर्छु,” उनी भन्छिन्, “मलाई लाग्छ, यो शब्द दर्शकको मुखमा झुन्डिनेछ ।”

महाभारतको बिम्बमा समकालीन समाज

चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलको हो । उनका अनुसार यो सामाजिक नाटक हो, जसले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्ब प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा दीपाश्रीसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतको मुख्य भूमिका छ ।

काली रानी फिल्म्सको ब्यानरमा निर्मित चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता नवीन श्रेष्ठ । उनले गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

चलचित्रको छायांकन श्याम तामाङ, सम्पादन सुप्रिम पराजुली र फाइट निर्देशन सम्राट बस्नेतले गरेका हुन् । गम्भीर विष्ट र विक्रम स्वाँरले नृत्य निर्देशन गरेका छन् । संगीत अर्जुन पोखरेल, ध्वनि डिजाइन उत्तम न्यौपाने, पृष्ठभूमि संगीत सुजिल कर्माचार्य र भिएफएक्स पुकार धिमालको हो । दर्शकले चलचित्रमा पूर्ण डल्बी एट्मस ध्वनिको अनुभव गर्न पाउनेछन् ।

चलचित्रको डिजिटल साझेदार ओएसआर डिजिटल हो । आरआर फिल्म्सले चलचित्र देशभर वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu