
हङकङ । ‘सगरमाथालाई अनुभव गरौँ, रसुवालाई सहयोग गरौँ’ भन्ने नारासहित नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष प्रदर्शन आइतबार हङकङमा सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा भएको प्रदर्शनमा उल्लेख्य दर्शक सहभागी थिए ।
सगरमाथा र नेपालको हिमाली सम्पदालाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउनु तथा रसुवामा बाढीपहिरोबाट प्रभावित र विस्थापित परिवारको पुनर्निर्माण र पुनर्स्थापनाका लागि सहयोग जुटाउनु प्रदर्शनको मुख्य उद्देश्य थियो ।
प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, थाई र इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शक सहभागी थिए । दर्शकले सगरमाथाको यात्रा, दृश्य प्रस्तुति, विषयवस्तु र जलवायु परिवर्तनसम्बन्धी सन्देशको प्रशंसा गरेका थिए ।
एनआरएनए हङकङले यसअघि गरेको ग्रान्ड प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएपछि दर्शकको मागअनुसार यो विशेष प्रदर्शन आयोजना गरिएको हो ।
प्रदर्शन संयोजक तथा एनआरएनए हङकङकी उपाध्यक्ष कविता गुरुङले पहिलो प्रदर्शनमा सहभागी हुन नसकेका दर्शकलाई अवसर दिन र नेपाली हिमाली कथा विभिन्न समुदायसम्म पुर्याउन कार्यक्रम आयोजना गरिएको बताइन् ।
एनआरएनए हङकङकी अध्यक्ष अनु राईका अनुसार ‘रोड टु एभरेस्ट’ सगरमाथा आरोहणको कथा मात्र होइन, यसमा शेर्पा समुदायको योगदान, साहस, संघर्ष र विश्वाससँगै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव समेटिएको छ । उनले फिल्म हेर्न र रसुवाका विपद् प्रभावित परिवारलाई सहयोग गर्ने अभियानमा सहभागी भएकामा हङकङका नेपाली समुदायलाई धन्यवाद दिइन् ।
एनआरएनए हङकङका महासचिव इन्द्र पुनले आफ्नै लगानी र सीमित स्रोतसाधनका बाबजुद नेपालीले आफ्नो कथा आफैँ भन्ने प्रयासलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताए ।
कार्यक्रममा वी विल राइज फाउन्डेसनका अध्यक्ष तुलसीकुमार गुरुङ तथा वृत्तचित्रका प्रमुख पात्र राज गुरुङ र विनोद गुरुङ पनि उपस्थित थिए ।
करिब ५० मिनेट लामो ‘रोड टु एभरेस्ट’ले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको यात्रामार्फत पर्वतारोहणका चुनौती, मानवीय साहस, शेर्पा समुदायको योगदान, नेपाली हिमाली सम्पदा र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा देखिएका असर देखाएको छ ।
वी विल राइज फाउन्डेसनद्वारा निर्मित वृत्तचित्रको निर्देशन निर्मल श्रेष्ठले गरेका हुन् । कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन् । नेपाली र अंग्रेजी दुवै भाषामा तयार वृत्तचित्र पूर्ण रूपमा नेपाली प्राविधिक तथा निर्माण टोलीले बनाएको हो ।
‘रोड टु एभरेस्ट’लाई विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सव र विशेष प्रदर्शनमार्फत विश्वभरका दर्शकमाझ पुर्याउने अभियान जारी रहेको निर्माण पक्षले जनाएको छ ।




